खाँदबारी। मादी नगरपालिका–१ को खोलागाउँमा भदौ २८ गते भएको सामूहिक हत्या घटना रहस्यमय बन्दै गएको छ । प्रहरीले थप छ जनामाथि अनुसन्धान सुरु गरिरहेको छ । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीका भाइ नरेश कार्की र उनका बुबा, काका, काकी तथा दुई छोरामाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । हत्या आरोपित लोकबहादुर र उनका भाइ नरेशबाहेक अन्य पाँच जनामाथि अनुसन्धान थालिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतको भनाइ छ । अहिलेसम्म प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको आधिकारिक जानकारी कसैलाई दिएको छैन ।
अनुसन्धानका क्रममा रहेकाले अहिले नै सबैको विवरण सार्वजनिक गर्न नमिल्ने प्रहरीको भनाइ छ । लोकबहादुरका भाइ नरेशका साथबाट मृतक रञ्जना कार्कीको मोबाइल फेला परेपछि प्रहरी अनुसन्धान लम्बिएको हो । लोकबहादुर र नरेशसँगको बयानका आधारमा प्रहरीले थप पाँच जनालाई अनुसन्धानको दायरामा ल्याएको बताइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology