बुटवल । ‘व्यवसायिक एकता हाम्रो प्रतिबद्धता, उत्पादनमा नयाँ सृजनशीलता – आजको आवश्यकता’ भन्ने मुल नारासहित स्थापित संस्था नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रुपन्देहीको ५ औं वार्षिक साधारणसभा शुक्रबार बुटवलमा सम्पन्न भएको छ ।
संघका जिल्ला अध्यक्ष सुभाष परियारको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै श्रेष्ठले सिलाई पेशामा व्यवसायिक हित र एकताको लागि एक ढिक्का भएर अगाडि बढ्न व्यवसायीहरुलाई आग्रह गरे । उनले राज्यले सिलाई व्यवसायीलाई उपेक्षा गरेकोले पेशागत हकहितका लागि निरन्तर लाग्ने बताए । कपडा सिलाउने व्यक्ति शीप र कलाका धनी भएकोले संगठन खोलेर संस्था विभाजित गर्नुभन्दा पनि भएका संस्थाको नेतृत्व गरी व्यवसायीका हितमा काम गर्न आग्रह गरे । उनले व्यवायीका समस्याहरुको समाधानका लागि महासंघले विशेष पहल गर्ने बताए । महासंघले व्यवसायीका समस्याहरु राज्यका निकायमा लगेर ध्यानाकर्षण गर्ने बताए ।
कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रामकुमार रणपालले सिलाई व्यवसायलाई परम्परागत शैलीबाट आधुनिकतामा लगेर व्यवसायिक तर्फ लैजादै यसको संरक्षण र प्रबद्र्धनका लागि सबै एकजुट हुनपर्ने बताए । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रुपन्देहीका पूर्व अध्यक्ष तथा सल्लाहकार सरोज गौतमले विभाजनबाट एकता सम्भव नहुने भएकोले सबै व्यवसायीहरु आपसमा मिलेर व्यवसायीको हितमा लागेमा संस्था अगाडि बढ्ने बताए ।
त्यस्तैगरी परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपालीले बोल्दै सिलाई व्यवसायीहरुको व्यवसाय पछिल्लो समय संकटमा आएको र सिन्डिकेट प्रथा लागु भएकोले यसको अन्त्यका लागि खबरदारी गर्नुपर्ने बताए । उनले महासंघका अध्यक्ष श्रेष्ठलाई व्यवसायीको तर्फबाट राज्यलाई ध्यानाकर्षण गराउन ध्यानाकर्षण पत्र समेत बुझाए ।
त्यस्तैगरी नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बुटवल नगर अध्यक्ष राजेन्द्र प्रसाद यादव, तानसेन गुठीका अध्यक्ष एवम् नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका मानार्थ सदस्य तिर्थ गौतम, राष्ट्रिय महिला उद्यमी संघ लुम्बिनी प्रदेशका सचिव मुना राना, नेपाल कपडा तथा सिलाई व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष सुशिला श्रेष्ठ, , रुपन्देही जिल्लाका पूर्व अध्यक्ष तथा लुम्बिनी प्रदेश सदस्य सुवर्ण कुमार रणपाल, नेपाल कपडा तथा सिलाई व्यवसायी संघका केन्द्रीय सदस्य निर्मला परियारलगायतले शुभकामना मन्तव्य राख्दै व्यवसायीको हितका लागि सबै लाग्नुपर्ने बताए ।
रुपन्देही जिल्ला शाखालाई विभिन्न क्षेत्रमा सहयोग गरेको भनी बुटवल नगर, तिलोत्तमा नगर, देवदह नगर समितिलाई सम्मान गरेको थियो । संघका रुपन्देही वरिष्ठ उपाध्यक्ष रमेश आब्जुको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव मधुमाया सेन रायमाझीले गरेकी थिईन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology