बुटवल । उद्योग व्यापार संघ बुटवलले पाँचौँ औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एबं पर्यटन महोत्सव आगामी २०८२ पुस ५ देखि १८ गतेसम्म गर्ने भएको छ ।
बुटवलका उद्योगी व्यवसायीका मुख्य ४ संस्थाले हरेक वर्ष आलो पालो मेला सञ्चालन गर्ने बुटवल उप महानगर सँगको सहमति अनुसार संघले २०८२ साल पुसमा मेला गर्न लागेको पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
बुटवल मण्डपमा यस अघिका भन्दा फरक र विशिष्ट तरिकाले सम्पन्न गर्ने उद्देश्यका साथ तयारीका काम शुरू भएको र दुई सय ५० स्टल अग्रिम बुक भइसकेको संघका अध्यक्ष विष्णुप्रसाद पाण्डेले बताए । उनले मेला सञ्चालनका लागि उप महानगरलाइ मेला सञ्चालन गर्ने जानकारी पत्र पनि पठाइसकेको जानकारी दिए ।
संघका निवर्तमान अध्यक्ष गोविन्द राज गैरेले बुटवलका ४ वटा संस्थाले आलोपालो मेला सञ्चालन गर्ने नियम अनुसार २०७८ सालमा संघले चौथो मेला सफलतापूर्वक सम्पन्न गरेको र आगामी २०८२ मा पाचौ मेला गर्न लागेको बताए ।
संघका संस्थापक अध्यक्ष खिम नारायण पराजुलीले २०८२को मेला यस अघिको भन्दा फरक र उत्कृष्ट बनाउन एक वर्ष अघिबाटै तयारी थालेको बताए । स्वाधीन अर्थतन्त्र निर्माणका लागि औद्योगीकरण तथा व्यापार विविधीकरण भन्ने मूल नारा सहित संघले मेलामा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने पराजुलीले बताए ।
संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी, उद्योग उपाध्यक्ष पदम जिसी, महासचिव यमलाल मरासिनी लगायतले बुटवलमा मेला तथा प्रदर्शनी गर्दै आएका अन्य तीन संस्था, सरोकारवाला, सरकारी र गैर सरकारी निकायसँग सहकार्य गरेर मेलालाई हाल सम्मकै उत्कृष्ट बनाउने गरी तयारी थालेको बताए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology