देवदह । उद्योगीहरुले सिमेन्टको मूल्य मनपरी रुपमा बढाएपछि उपभोक्ताहरु मारमा परेका छन् । करिव डेढ महिना यता लगातार बढिरहेको सिमेन्टको मूल्य घट्ने छाँटकाट नदेखिएपछि उपभोक्ताहरु मारमा परेका हुन् ।
उद्योगहरूले सिमेन्टको मूल्य प्रतिबोरा २६० रूपैयाँदेखि २८० रूपैयाँसम्म बढाएका छन् । गत मंसिर ४ गते बजारमा ४०० रुपैंया प्रतिबोरामा उपलब्ध भएको पिपिसि सिमेन्टको मूल्य हाल औषत ६६० रुपैंयाभन्दा माथि पुगेको छ । यस्तै ४३ ग्रेडमा उपलब्ध ओपिसि सिमेन्टको मूल्य प्रतिबोरा ९० देखि १०० रुपैंया तथा ५३ ग्रेडमा प्रतिबोरा थप १५ देखि २० रुपैंया बढि पर्ने हुन्छ ।
मूल्य बढाउने सहमति सहित उद्योगीहरु एक भएपछि बजारमा सिमेन्टको मूल्य आकासिएको उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव एवम् अधिवक्ता बिष्णुप्रसाद तिमिल्सीना बताउँछन् । ‘उद्योगीहरुले विभिन्न बहानामा मूल्यवृद्धि गरिरहेका छन् । र पनि राज्य टुलुटुलु हेरेर बसेको छ । यो नागरिकप्रतिको ठगी र लुटतन्त्र हो ।’ उनले भने, ‘यस्तो निरीह सरकारबाट नागरिकले के अपेक्षा गर्ने ?’
अहिले मूल्य बढाउनुको कुनै तुक नभएको बताउँदै महासचिव तिमिल्सिनाले राज्य उदासीन भएको देखेर त्यसको गलत फाईदा उद्योगीहरुले उठाएको दावी गरे । ‘अहिले डिजल पेट्रोलको भाउ बढेको छैन, मजदुरको ज्याला पनि उस्तै छ, राज्यको करमा पनि कुनै घटबढ देखिदैन, न त कच्चापदार्थको मुल्य बढेर नै वर्तमान अवस्था सिर्जना भएको हो ? त्यसैले यस्तो न्युट्रल अवस्थामा गरिएको मूल्यवृद्धि एक किसिमको कालाबजारी हो, ठगि हो, यसलाई हामीले राज्य संरक्षित अपराधको रुपमा किन नबुझ्ने ? यो ठगि र अपराध नै हो भने तपाईँहरु यसप्रति किन मौन ? भन्ने प्रश्नमा उनले भने, ‘राज्यले समेत नियन्त्रणको प्रयास नगरेकाले यस्तो किसिमको मूल्यवृद्धि विरुद्ध जनस्तरबाटै विरोध आवश्यक छ ।’
सेतोमसीलाई प्राप्त जानकारी अनुसार सिमेन्ट उत्पादक कम्पनीहरुले पछिल्लो पटक कुन उद्योगले दैनिक कति बोरा सिमेन्ट उत्पादन गर्ने भन्ने समेत सहमति गरेका छन् । स्रोतका अनुसार ह्वाङ्सी सिमेन्टले दैनिक ३२ हजार बोरा, सर्बोत्तम सिमेन्टले २२ हजार बोरा, अर्घाखाँची सिमेन्टले १८ हजार बोरा र पाल्पा सिमेन्टले दैनिक १३ हजार बोरा मात्र सिमेन्ट प्रतिदिन बजारमा पठाउने सहमति गरेका हुन् । कम्पनिहरुले सहमति कार्यान्वयन भए, नभएको निगरानी गर्न छुट्टै संयन्त्र समेत निर्माण गरेको स्रोतको दावी छ ।
देशभर करिव ६० भन्दा बढि सिमेन्ट उद्योग रहेपनि केहि उद्योगहरु हाल बन्द अवस्थामा रहेको बताईन्छ । १४ वटाभन्दा बढि उद्योगले क्लीङ्कर उत्पादन गर्ने र अन्य कम्पनीलाई बिक्रि गर्ने गरेपनि अन्तिम समयमा आएर कम्पनीहरु सिमेन्ट उत्पादक संघ मार्फत एवबद्ध बनेपछि मूल्यवृद्धिमा सहज वातावरण बनेको जानकारहरु बताउँछन् ।
सिमेन्ट उत्पादनका लागि देशका ठुला उद्योगहरु मध्येका ह्वाङ्सी , ह्वासिन, सर्बोत्तम, पाल्पा, अर्घाखाँची, शिवम्, जगदम्बा, बृजजस्ता उद्योगहरुबाट उत्पादित सिमेन्टको मुल्यमा एकरुपता रहेको छ ।
केहिबर्ष अघि सिमेन्ट उत्पादक संघले तोकेको मूल्यलाई चाईनिज लगानी रहेका ह्वाङ्सी, ह्वासिनजस्ता सिमेनट उद्योगले वेवास्ता गरेका कारण सिमेन्टको मूल्यमा एकरुपता हुन सकेको थिएन । तर पछि उनीहरुलाई पनि संघले आँफु मातहत ल्याउन सफल भएपछि सिमेन्टको बजारमा एक किसिमको एकाधिकार (कार्टेलिङ्ग) सुरु भएको हार्डवेयर व्यवसायी बताउँछन ।
तर उद्योगीहरु भने सिन्डीकेटलाई अस्वीकार गर्छन् । उनीहरु वर्तमान मूल्यवृद्धिलाई मूल्य समायोजन गरिएको दावी गर्छन् । उद्योगहरुले वर्तमान अवस्थामा बजारको माग कम भएका कारण उत्पादन कम गर्नुपरेको बताउने गरेका छन् । पाल्पा सिमेन्ट ईण्डष्ट्रिज लि. का जनसम्पर्क प्रमुख जीवन निरौलाले भने, ‘हिजोका दिनमा ४०÷४५ हजार बोरा सिमेन्ट उत्पादन गर्ने उद्योगले अहिले ८÷१० हजार बोरा दैनिक उत्पादन गर्नुपर्ने अवस्था छ । यसरी उत्पादन कम गर्नुपर्ने बाध्यता आएपछि दैनिक अपरेटिङ्ग खर्च जुटाउन पनि उद्योगहरुलाई मूल्यवृद्धि गर्नुपर्ने बाध्यता बनेको हो ।’ मूल्यवृद्धि योजनावद्ध देखियो नि भन्ने प्रश्नमा उनले भने, ‘अहिले खर्च कटौती गरेर बजारमा टिक्ने अवस्थामा उद्योगहरु रहेका छन् । मलाई व्यक्तिगत रुपमा यो अवस्था लामो समय जान्छ भन्ने लाग्दैन । आशा गरौं केहि समयपछि समस्या हल होला बताउँछ ।
निर्माण कार्यका लागि ओपिसि र पिपिसि सिमेन्ट दुवै आवश्यक पर्ने भएपनि कतिपय उद्योगले लामो समयदेखि एउटा मात्र क्याटागोरीको सिमेन्ट उत्पादन गरिरहेका कारण व्ययवायीहरु पनि समस्यामा परेका छन् । मूल्यवृद्धिको सुरुवाति फेजबाटै नवलपरासी स्थित ह्वाङ्सी सिमेन्टले आफुले पाएको कोटा मध्येबाट ओपिसि सिमेन्ट मात्र उत्पादन गरिरहेको छ । पछिल्लो समय सुनवलस्थित पाल्पा सिमेन्ट उद्योगले समेत ओपिसि उत्पादनलाई प्रार्थमिकतामा राखेपछि आफुहरु मर्कामा परेको जगत्रदेवी ट्रेडर्स बुटवलका प्रोप्राइटर सशी ज्ञवालीले बताए । ‘स्थानीय बजारमा दैनिक दुईहजार पाँच सयदेखि तिन हजार बोरासम्म सिमेन्ट बिगतमा बिक्रि हुन्थ्यो तर अहिले स्थानीय बजार शुन्य जस्तै छ ।’ उनले भने, ‘मूल्यवृद्धि नरोकिए हामिलाई त यसैपनि समस्या पर्छ नै त्यसले राज्यद्धारा सञ्चालित ठुला–ठुला योजना र स्थानीय निकायमा उपभोक्ता समिति मार्फत हुने स–साना योजनाका कामलाई पनि असर गर्छ ।
हार्डवेयर व्यवसायमा करिव १२ बर्ष अनुभव सँगालेका ज्ञवालिले यो परिस्थिती हाल सम्मकै खराव परिस्थिती भएको बताउँछन् । ‘केहिबर्ष अघि भारतले नाकाबन्दी गर्दापनि यस्तो अवस्था थिएन । तत्कालिन अवस्थाका सिमेन्ट उत्पादनका लागि भारतबाट आउने कच्चा पदार्थ नआएका कारण मूल्यवृद्धि भएको थियो, त्यसलाई व्यापारी र उपभोक्ताले सहज रुपमा लिएका थिए । तर यो पटकको मूल्यवृद्धिमा राज्य बेखवर जस्तै देखियो ।’ उनी भन्छन्, ‘हामी व्यापारीहरुलाई आजभोलि राज्य विहिनताको अनुभुति हुन थालेको छ ।’
त्यसैगरी सिद्धार्थ हार्डवेयर्स प्रा.लिका प्रमुख कार्यकारी अधिकृत सन्दिप खोवालाले पनि पछिल्लो पटक सिमेन्टमा भएको मूल्यवृद्धिको कारण आफुहरु मर्कामा परेको बताए । ‘पछिल्लो समय भएको अस्वभाविक मूल्यवृद्धिका कारण उपभोक्ताको माग ह्वात्तै घटेको छ । कम्पनीले मागेको बेला सिमेन्ट उपलब्ध नगराउने र गराईहालेपनि मूल्यको चाप थेग्न कठिन छ ।’ उनले भने, ‘हाम्रो सेल्स निकै घटेको छ । कम्पनीको कारण हामी ग्राहकको नजरमा नराम्रो बन्नुपरेको अवस्था छ । मुल्य कम्पनीहरुले बढाउने अहि हामीले बढाएको जस्तो गरेर ग्राहकले हामीसँग झगडा गर्छन् ।’ रुपन्देही, दाङ्ग, बाँके र कैलालिमा गरी ९ वटा शाखा मार्फत व्यवसाय सञ्चालन गरिरहेको सिद्धार्थले सिमेन्टको मूल्वृद्धिका कारण आफ्नो समग्र व्यापारमा कमि आएको जनाएको छ ।
उत्पादनको हिसावले आत्मनिर्भर बन्दैगरेको नेपाली सिमेन्ट केही समयदेखि भारतमा समेत निर्यात हुँदै आएको थियो । भारतिय बजारमा सिमेन्ट पठाइरहेको सर्बोत्तम, पाल्पा र अर्घाखाँचीले स्वदेशमै माग पुरा गर्न नसकेका कारण उनीहरुको निर्यातलाई समेत असर पार्ने देखिन्छ । नेपाली उद्योगले भारतिय बजारमा बार्षिक पाँच अर्ब रुपैयाँभन्दा बढिको सिमेन्ट निर्यात गर्ने गरेको दावी गर्छन् । तर नेपाली बजारमा उद्योगीहरुले पछिल्लो क्रममा देखाएको रबैया र एकाधिकारले अन्तत्वगत्वा निर्यातलाई पनि असरपार्ने विष्लेषकहरु दावी गर्छन् ।
निर्माणको चरणमा रहेका नेपालका विभिन्न सडक, पुल तथा अन्य पूर्वाधारको लागि आवश्यक पर्ने महत्वपूर्ण कच्चापदार्थभित्र पर्ने सिमेन्टको अस्वभाविक र अनियन्त्रित मूल्यवृद्धिका कारण समग्र पक्षमा नकारात्मक प्रभाव पार्न सक्छ । यसलाई राज्यले छिट्टै नियन्त्रणमा लिनुपर्ने उपभोक्ता अधिकारकर्मीहरुको माग छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology