स्याङ्जा । यस वर्ष स्याङ्जाबाट एक अर्ब १२ करोड रुपैंया भन्दा बढिको सुन्तला बिक्री भएको छ । सुन्तला सुपरजोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामा एक अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय रुपैंया भित्रिएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष २० हजार ८४ दशमलव दुई मेट्रिक टन सुन्तला उत्पादन भएको छ । ‘उत्पादन भएको मध्ये ९० प्रतिशत सुन्तला बिक्री भइसकेको छ ।’ उनले भने, ‘यो बर्ष उत्पादित सुन्लता थोक मुल्यमा प्रति केजी ५६ रुपैंयाका दरले बिक्री भयो ।’ क्षेत्रीका अनुसार चालु आर्थिक वर्षमा स्याङ्जामा सुन्तला बगैँचाको क्षेत्रफल दुई हजार दुई सय ८० हेक्टरमा विस्तार भएको छ ।

चालु आवमा प्रतिहेक्टरमा सुन्तलाको उत्पादकत्व १४÷६६ टन भएको सूचना अधिकारी क्षेत्रीले जानकारी दिए । क्षेत्रफलको हिसावले गत आर्थिक वर्षमा दुई हजार एक सय हेक्टरमा सुन्तला बगैँचा कायम थियो भने गत वर्षको तुलनामा यस वर्ष ५० हेक्टर उत्पादनशील क्षेत्रफल वृद्धि भएको हो । स्याङ्जाका सुपरजोन घोषणा हुनुपूर्व आठ सय ८७ हेक्टरमा फैलिएको सुन्तला बगैँचा सुपरजोन भएसँगै हालसम्म दुई हजार दुई सय ८० हेक्टरमा विस्तार भएको उनले बताए । गत वर्ष एक हजार नौ सय ८७ मेट्रिक टन सुन्तला उत्पादन भएको उनले जानकारी दिए ।
विसं २०७३÷७४ मा स्याङ्जालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन एकाइ घोषणा गरिएको थियो । आव २०७५÷७६ को सुरुवातसँगै स्याङ्जालाई सुपरजोन घोषणा गरिएको थियो । सुन्तलाका क्षेत्रमा सुपरजोन घोषणा भई कार्यान्वयनमा आएसँगै जिल्लामा सुन्तला उत्पादनतर्फ किसान थप आकर्षित भएर लागेका सुन्तला सुपरजोन सञ्चालक समिति स्याङ्जाका अध्यक्ष बोधराज अर्यालले बताए । स्याङ्जामा साउनदेखि फागुनसम्म विभिन्न प्रजातिका सुन्तला उत्पादन हुँदै आएका छन् ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकमा रहेको त्रिपुत्र बागवानी कृषि फार्मले यस वर्षमात्र रु पाँच करोडका सुन्तलाको कारोबार गरेको छ । फार्मले भाटभटेनी सुपरमार्केट लगायत व्यावसायिक सघसंस्थालाई उल्लेख्य मात्रामा सुन्तला बिक्री गर्दै आएको छ । फार्मले यस वर्ष प्रतिकेजी न्यूनतम २५ रुपैंयादेखि अधिकतम ८५ रुपैंयासम्मका दरले सुन्तला बिक्री गरिरहेको छ । फार्मका सञ्चालक फणिनारायण अर्यालका अनुसार सुन्तलाको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैंयादेखि अधिकतम ८५ रुपैंयासम्म कायम भएको छ ।
तुलनात्मक रुपमा गत वर्षभन्दा यस वर्ष सुन्तलाको बिक्री मूल्य घटेको उनले बताए । जिल्लाकै अगुवा सुन्तला किसान उनि एक्लैले सुन्तला बेचेर गरेर वार्षिक ६० देखि ७० लाख रुपैंयासम्म आम्दानी गर्दै आएका छन् ।
पछिल्लो क्रममा स्याङ्जालाई सुन्तलाको पकेट जिल्लाको रुपमा विकास गर्न विभिन्न पहलकदमीहरु भईरहेका छन् । जिल्लाका विभिन्न भागमा निर्वाहमुखी र घरायसी प्रयोजनका लागि गरिँदै आएको सुन्तला खेती आजभोलि विस्तारीत हुँदै गएको छ । पुतलीबजार, वालिङ, भिरकोट, गल्याङ नगरपालिका सहित आँधीखोला, फेदिखोला, बिरुवा, हरिनास, अर्जुनचौपारी गाउँपालिका सुन्तला उत्पादनको हिसावले पकेट क्षेत्र मानिन्छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology