देवदह । जिल्ला समन्वय समिति रुपन्देही र स्थानीय तहहरु बिच २१ औ घुम्ती बैठक रुपन्देहीको देवदहमा सम्पन्न भएको छ । देवदह नगरपालिकाका प्रमुख धु्रवप्रसाद खरेलको अध्यक्षता र जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईको प्रमुख आतिथ्यमा भएको बैठकले विभिन्न निर्णय गरेको छ ।
घुम्ती बैठकले कृषि उत्पादनको लागि प्रयोग गरिने कृषि यन्त्र र औजारको मूल्य निर्धारण गरेको जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख चपाईले जानकारी जानकारी दिए । ‘कृषि उत्पादनको लागि प्रयोग गरिने डे«सर, रोडाभेटर, जोताई ट्याक्टरको मूल्य निर्धारण भएको छ । जसमा डे«सरको बढिमा दुई हजार छ सय रुपैंया प्रति घण्टा, रोडाभेटरको दुई हजार दुई सय र जोताई ट्याक्टरको दुई हजार रुपैया मूल्य निर्धारण गरिएको छ ।’ उनले भने, ‘ जिल्लामा कृषि उत्पादनको लागि प्रयोग गरिने कृषि औजारमा एकरुपता ल्याउनको लागि मूल्य निर्धारण गरिएको हो ।’
बैठकले विभिन्न पालिकामा सञ्चालन हुने ई–रिक्सा सम्वन्धी कार्यविधि बनाएर आगामी बैठकमा पेश गर्ने निर्णय गरेको छ । त्यस्तै पालिकामा उत्पन्न हुने हरेक समस्याको समाधानका लागि सहकार्य गरेर अघि बढ्न सबै स्थानीय निकायका प्रतिनिधिहरु सहमत भएका छन् ।
सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले विकास निर्माणको सवालमा प्रतिस्पर्धा नभई समन्वय र सहकार्यमा पालिकाहरु अगाडि बढ्न आवश्यक रहेको बताए । श्रमजिवीहरुले काम गरेर खाने वातावरण तयार गर्न पालिका लाग्नुपर्नेमा उनको जोड थियो । रुपन्देहीको विभिन्न पालिकाहरुमा नदीजन्य पदार्थ चोरी निकासी हुनबाट रोक्नको लागि प्रहरी प्रशासनसंगै जनप्रतिनिधि पनि लाग्नु पर्ने उनले बताए । ‘राज्यको सम्पत्ति संरक्षण गर्ने जिम्मा प्रहरी प्रशासनको मात्र नभई आम नागरिकको समेत हो ।’ उनले भने, ‘त्यसमा अझ बढि जिम्मेवारी जनप्रतिनिधि र कर्मचारीहरुले लिनुपर्छ ।’
कार्यक्रममा सियारी गाउँपालिकाका प्रमुख थानेश्वर घिमिरे, सिद्धार्थ नगरपालिकाका उपप्रमुख उमा अधिकारी, मर्चवारी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराई, सिद्धार्थ नगरका जनक थापा, बुटवल–१२, का वडा अध्यक्ष यज्ञप्रसाद पंगेनी लगायतले बोल्दै फोहोर व्यवस्थापनका लागि सवै पालिका मिलेर अगाडि बढ्न आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, लुम्विनी साँस्कृति नगरपालिकाका तारा ज्ञवाली, ओमसतिया गाउँपालिकाका विपिन क्षेत्री, कोटियामाई गाउपालिकाका दिनेशकुमार गौड, समरीमाई गाउपालिकका राजेश मल्लाह लगायतले आ–आफना पालिकाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको स्वागत र शाखा अधिकृत रमेश गिरीको सञ्चालनमा भएको बैठकमा जिल्ला स्थित पालिकाका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको थियो ।
जिल्ला समन्वय समिति रुपन्देहीले हरेक महिना विभिन्न स्थानीय तहमा घुम्ती बैठक गर्ने गरेको छ । जिल्ला समन्वय समिति रुपन्देहीको आयोजना र देवदह नगरपालिकाको व्यवस्थापनमा आइतवारको बैठक सम्पन्न भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology