देवदह । देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा ‘पान उत्कृष्ट राष्ट्रसेवक सम्मान २०८१’ बाट सम्मानित भएका छन् । निजामति क्षेत्रमा काम गर्ने देशभरका कर्मचारीहरु मध्येबाट उत्कृष्ट हुनेलाई नेपाल जन–प्रशासन संघले गर्ने उक्त सम्मानबाट सापकोटा सम्मानित भएका हुन् ।
करिब दुई दशकको निजामती सेवामा अधिकांश अवधि स्थानीय तहमा जनतासँग नजिक भएर सेवा प्रदान गरेका कारण सापकोटालाई पुरस्कृत गरिएको छनौट समितिका संयोजक कृष्णहरी बास्कोटाले सेतोमसीलाई बताए । छनौट समितिले स्थानीय निकायमा रहेर काम गर्दा वित्तिय सुशासन, पारदर्शिता र उत्कृष्ट प्रशासनिक कार्यदक्षतालाई समेत पुरस्कार वितरणको मुख्य मापदण्ड बनाएको बास्कोटाले जानकारी दिए ।
‘उहाँसंग स्थानीय विकास, संघिय मामिला, सामान्य प्रशासन, सहकारी र प्रधानमन्त्रीको कार्यालयमा रहेर काम गरेको अनुभव समेत छ । त्यो अनुभवलाई स्थानीय निकायमा भरपुर उपयोग गर्नुभएको छ ।’ बास्कोटाले भने, ‘मुलुक संघीयतामा आउनुअघि होस् वा पछि, उहाँको कार्य अनुभवबाट भएको परिवर्तन अहिले स्थानीय तहमा प्रत्यक्ष रुपमा देखिन्छ । त्यसैले उहँलाई सम्मानित गरिएको हो ।’
संघका पूर्वअध्यक्ष, नेपाल सरकारका पूर्व सचिव तथा राष्ट्रिय सूचना आयोगका पूर्वअध्यक्ष बाँस्कोटालाई नेपाल सरकारले उत्कृष्ट निजामती कर्मचारीको रुपमा प्रदान गरेको पुरस्कार रकमबाट अक्षयकोष स्थापना गरी यो पुरस्कार घोषणा गरिएको हो । यसैवर्षदेखि उपलब्ध गराउन थालिएको यो पुरस्कार प्राप्त गर्ने सापकोटा पहिलो निजामति कर्मचारी हुन् ।
उनले यसअघि तिलोत्तमा, घोराही, सन्धिखर्क, मलङ्गवा, वाङगंगा, कीर्तिपुर, बर्दघाट लगाएत स्थानीय निकायमा रहेर काम गरिसकेका छन् ।
बास्कोटा संयोजक रहेको छनौट समितिमा पूर्व मन्त्रि विद्याधर मल्लीक, पुर्व राजदुत मधुरमण आचार्य, पूर्व सचिव कृष्ण ज्ञवाली, सुशासन विद डा. हिरामणि घिमिरे, कर्मचारी सञ्चय कोषका बरिष्ठ अधिकृत डा दिलिपरज पाौडेल सदस्य रहेका थिए ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology