देवदह । नगर उपप्रमुखसँग महिला कार्यक्रम अन्तर्गत देवदह नगरपालिका वडा नं १, २ र ८ मा सञ्चालित महिलाहरुका लागि बाटेको धूप बनाउने तालिम शुक्रबार समापन भएको छ ।
देवदह नगरपालिकाको आयोजनामा भएको तालिम समापनको अवसरमा बोल्दै नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले सहभागीहरुलाई सीप सिकेर मात्रै नहुने बताईन् । ‘सिकेको सीपलाई व्यवहारमा उतार्न जरुरी छ ।’ उनले भनिन्, ‘घरमा आफ्नो आवश्यकता परिपूर्ति गर्न, फजुल खर्च बचाउन र बढी उत्पादन गरेर बिक्री गरी आम्दानी गर्ने उद्देश्यका साथ तालिम संचालन गरिएको हो ।’
कार्यक्रममा वडा नं. २ का अध्यक्ष दलबहादुर राकसकोटी, निमित्त प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल लगाएतले बोल्दै स्वरोजगार र आत्मनिर्भरताको लागि तालिम फलदायि हुने बताए ।
स्थानीय ५० जना महिलाहरुको सहभागिता रहेको धूप बनाउने तालिम ५ दिनसम्म सञ्चालन भएको थियो । वडा नं २ को कार्यालय सभाहल ढेकावरमा सम्पन्न तालिममा लक्ष्मीदेवी श्रेष्ठ र अन्जना श्रेष्ठले सहजिकरण गरेका थिए ।
महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख इन्दिरा भुसालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology