देवदह । सहिद दुर्गा तिवारीको ८ औं वार्षिक स्मृति दिवसको अवसरमा आयोजित बृहत्त रक्तदान कार्यक्रममा ८४ पिन्ट रगत संकलन भएको छ । सहिद दर्गा बसन्त स्मृति प्रतिष्ठान देवदहको आयोजनामा भएको कार्यक्रममा ८४ जनाले रक्तदान गरेको रक्त सञ्चार सेवा केन्द्र बुटवलका प्राविधिक गणेश खनालले जानकारी दिए ।
स्मृति दिवसको अवसर पारेर विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा उत्साहजनक रुपमा रक्तदाताहरु सहभागि भएको प्रतिष्ठानका अध्यक्ष दिपेश मल्लले बताए । ‘३७ जना नयाँ रक्तदाताले रक्तदान गरेकाले पनि कार्यक्रम उत्साहजनक रह्यो ।’ अध्यक्ष मल्लले भने, ‘अधिकांश सहभगिहरु विद्यालयमा अध्ययनरत विद्यार्थी रहेका छन् । आगामि दिनमा यो उत्साहलाई जोगाउन सक्यो भने देवदह पनि रक्तदानको हब बन्न सक्छ ।’
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले देवदहमा क्रियाशील सामाजिक संघसंस्थाले आयोजना गर्ने रक्तदान कार्यक्रमहरू सदैव उत्कृष्ट हुने बताए । मानविय सेवामा रक्तदान सबैभन्दा उच्च कोटीको सेवा भएको उल्लेख गर्दै उनले रक्तदानमा सरिक हुने कार्यले मानव समाजप्रतिको उत्तरदायित्व बोध हुने बताए ।
कार्यक्रम संयोजक अर्जुन गैरेको स्वागत र गणेश डुम्रेको संचालनमा भएको कार्यक्रममा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा उपसभापति एवं रक्त सञ्चार सेवा केन्द्र बुटवलका संयोजक मित्रलाल न्यौपाने, देवदह उपशाखा सभापति कृष्ण न्यौपाने लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
स्मृति दिवसकै अवसरमा प्रतिष्ठानले आजै ‘युवा सम्भावना र अवसर’ विषयक प्रशिक्षण कार्यक्रम समेत गरेको छ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक वाई पि आचार्यले प्रशिक्षण दिएको कार्यक्रममा स्थानीय २ सय बढि युवाको सहभागिता रहेको प्रतिष्ठानका अध्यक्ष मल्लले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology