देवदह । सुकुन्धरा देवी आधारभूत विद्यालय देवदह–११ भुतहवाका अति विपन्न विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ । आर्थिक बर्ष २०८१\८२ को वडा स्तरिय योजना अन्तर्गत विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको हो । बिहीवार एक कार्यक्रमका बिच वडा कार्यालयका प्रनिनिधि, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि र शिक्षकहरुको रोहवरमा कक्षा नर्सरी देखि पाँच कक्षासम्मका ७१ जना विद्यार्थीहरुलाई पोशाक (टिसर्ट) वितरण गरिएको वडा नं ११ का सचिव बामदेव पोख्रेलले जानकारी दिए ।
सोही कार्यक्रममा बोल्दै वडा अध्यक्ष दूधनाथ यादवले वडा भित्र रहेका सकुन्धरा प्रावि सहित तीन बिद्यालयका ६ सय ५० जना बालबालिकालाई खेलकुद सामग्री सहित, जुत्ता, झोला, कापी कलम वितरण गरेको बताए । ‘सरकारले शिक्षा क्षेत्रमा धेरै लगानी गरेको छ, तर त्यसको प्रभाव देहात र गाउँ वस्तीसम्म पुग्न सकेको छैन ।’ अध्यक्ष यादवले भने, ‘पढ्न चाहेका तर अर्थिक अभावले प्रभावित विद्यार्थीलाई वडा मार्फत सहयोग उपलब्ध गराईएको छ ।’ उनले राज्यले शिक्षा क्षेत्रमा गरिरहेको लगानीलाई थप बढाउनुपर्ने उल्लेख गरे ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक कोइल प्रसाद यादवले २०६२ सालमा स्थापना भएको विद्यालयमा पछिल्लो समय विद्यार्थी संख्या घट्दै गएकोमा दुःख व्यक्त गरे । उनले भने, ‘पहिले भौतिक सञ्चरचा थिएन, त्यो बेला ३ सय भन्दा बढी विद्यार्थी थिए, अहिले भौतिक संरचना छ, तर विद्यार्थी छैनन् ।’ प्रअ यादवले देहाती क्षेत्रका अभिभावकहरुमा सचेतनाको अभावका कारण यस्तो समस्या आएको बताए । कुल ७१ जना बिद्यार्थी विद्यार्थी रहेको बिद्यालयमा स्थायी निजी श्रोतबाट गरि ६ जना शिक्षक अध्यापनरत रहेका छन् ।
पोशाक वितरण कार्यक्रममा विद्यालयका अध्यक्ष गोविन्द तेली, वडा सदस्य कौशिला हरिजन, संगिता मल्लाह, मंगल प्रसाद थारु, शिक्षक बुद्धिराम केवट लगाएतको उपस्थिती रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology