भैरहवा । भैरहवामा जारी नवौं लुम्बिनी राष्ट्रिय महोत्सवमा निःशुल्क माटो परीक्षण सुरु भएको छ । कृषि प्रधान मुलुक भएर पनि किसानले सहजै आफ्नो उब्जाउ भूमिको माटो परीक्षण गर्न पाएका छैनन् । यस्तो अवस्थामा महोत्सव आयोजक संस्था सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीले निःशुल्क माटो परीक्षणको व्यवस्था गरेको हो । नेपालगञ्जका प्राविधिकहरुको सहयोगमा माटोको निःशुल्क परीक्षण सुरु गरिएको आयोजकले जनाएका छन् ।
पछिल्लो समय कृषकहरुले गरिरहेको अन्नबाली र तरकारी खेतीबाट उत्पादनमा आइरहेको ह««ासलाई मध्यनजर गरी माटो परीक्षण सुरु गरिएको महोत्सव आयोजक संस्थाका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए । ‘माटोको अवस्था पत्ता लगाउन र के–कस्तो खेती गर्न उपयुक्त हुन्छ भन्ने पत्ता लगाउन माटो परीक्षण गर्ने व्यवस्था गरेका हौं’, उनले भने, ‘यसले किसानलाई उत्पादन बढाउन र मुनाफा कमाउन सहयोग पुग्ने विश्वास लिएका छौं ।’
जिल्लाको ग्रामीण क्षेत्रका अधिकांश व्यक्ति कृषिमा अश्रित छन् । तर, नजिक माटो परीक्षणको व्यवस्था नहुँदा चाहेर पनि परीक्षण गर्न सकेका छैनन् । महोत्सवमा गरिएको निःशुल्क माटो परीक्षणमा प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फास्फोरस र पोटास परीक्षण गरिने छ । प्रयोगशालामा गएर आफैले माटो परीक्षण गराउन खर्चिलो र झण्झटिलो हुने भएका कारण महोत्सवमै परिक्षणको व्यवस्था मिलाइएको कृषि व्यवस्थापन उप समिति संयोजक यमकला न्यौपानेले बताइन् ।
‘जथाभावी रासायनिक मलको प्रयोगले माटोमा अम्लियपना बढी भइरहेको छ, उत्पादन र उत्पादकत्व घट्दो छ’, उनले भनिन्, ‘यहाँ गरिएको परीक्षणले माटोको अवस्थामा सुधार ल्याउन सहयोग गर्नेछ । अर्कोतर्फ किसानलाई माटो सुहाउँदो ब्यवसायिक खेतीतर्फ आकर्षित गराउन पनि सहयोग पुग्नेछ ।’
पछिल्लो वर्षहरुमा कृषि क्षेत्रमा रासायनिक मलको प्रयोग बढ्दो छ । यसले माटोको उर्वराशक्तिमा ह्रास गरिरहेको छ । तर, धेरै किसानलाई यसबारे जानकारी छैन । यसबारे जानकारी गराउने र कस्तो माटोमा कुन खेती गर्दा उब्जनी बढी हुन्छ भन्ने जानकारी दिने उद्देश्यले महोत्सवमा निःशुल्क माटो परीक्षण सुरु गरिएको आयोजकको भनाई छ ।