तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनले २०८४ को निर्वाचनमा माओवादी केन्द्र एक्लै चुनाव लड्ने बताएका छन् ।
प्रेस सेन्टर नेपाल तनहुँले सोमबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पुनले हालै सम्पन्न उपनिर्वाचनमा आएको मतको आधारमा माओवादी प्रति जनताको भरोसा बढेकोले एक्लै चुनाव लड्ने बताए । उपमहासचिव पुनले भने, ‘‘जनताले माओवादीप्रति देखाएको आशा र आकर्षणले गर्दा उपनिर्वाचन राम्रो मत प्राप्त हारेको धेरै स्थानमा दोस्रो नम्बरमा भयौँ ।’’
जनताको घरदैलोमा नै पुगेर आफ्नो एजेन्डाबारे अवगत गराउने र माओवादी एक्लै लडेर विजय प्राप्त गर्ने पुनले बताए । सरकारमा हुँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियानप्रति जनतामा नयाँ आशा र आकर्षण पैदा भएको उल्लेख गर्दै पुनले आगामी निर्वाचनमा एक्लै विजयी हुने गरी अभियान थाल्ने उल्लेख गरे ।
सङ्गठन निर्माण र जनपरिचालनबाट निर्वाचन एक्लै जित्ने वातावरण बनाउने उनको भनाइ छ । आर्थिक समृद्धिको लक्ष्य लिँदै सुशासन र जनताको पक्षमा काम गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उपमहासचिव पुनले बताए ।
सरकारले जनताका पक्षमा र सुशासनका पक्षमा काम गर्नुपर्ने बताउदै उनले यस्तो कार्यमा आफ्नो पार्टिको साथ र समर्थन रहने जिकिर गरे । माओवादी पार्टी हाल सरकार फेरबदलमा नलाग्ने बताउँदै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै भएता पनि वर्तमान शासन व्यवस्थाका बारेमा कुरा उठ्न थालेकाले यसको सुधार आवश्यक रहेकामा जोड दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology