देवदह । रुपन्देहीको शुद्धोधन गाउँपालिकाले गर्भवती महिलाहरुको लागि निःशुल्क भिडियो एक्सरे सेवा शुभारम्भ गरेको छ । गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले खडवा बनगाई स्वास्थ्य चौकीमा आइतबार एक समारोहका बीच सेवा सुभारम्भ गरेका हुन् ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बस्यालले पालिकावासीलाई सहज र सुलभ रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिका लागिरहेको बताए । ‘गाउँपालिका भित्र भिडियो एक्सरे सेवा नहुँदा यहाँका गर्भवति महिलाहरु समय र पैसा खर्च गरेर बुटवल, भैरहवा धाउनुपर्ने बाध्यता थियो ।’ उनले भने, ‘सेवा सुचारु भएसँगै अन्य स्थानका अस्पतालहरुमा जानुपर्ने बाध्यता टरेको छ ।’
सेवाको प्रभावकारीता बारे बताउँदै स्वास्थ्य शाखा प्रमुख समिर भण्डारीले ग्रामीण क्षेत्रका गर्भवति महिला र पेटभित्रको बच्चाको स्वास्थ्य अवस्था थाहा पाउनको लागि यो सेवा सञ्चालन गरिएको बताए । प्रमुख भण्डारीले समयमै चेकजाँच हुन सके जटिल अवस्थाको समेत समयमै पहिचान हुने र त्यसबाट आमा तथा शिशु दुवै स्वस्थ हुने उल्लेख गरे ।
सेवा सुचारु भएको पहिलो दिन आइतबार २२ जना गर्भवति महिलाहरुले सेवा लिएको खडवा बनगाई स्वास्थ्य चौकीका प्रमुख मदन पोख्रेलले जानकारी दिए ।
शुद्धोधन २ का वडा अध्यक्ष कमल खड्का क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष शान्तादेवी ज्ञवाली लगाएत स्थानीय जनप्रतिनिधि, कर्मचारी टोल विकास संस्थाका प्रतिनिधि एवम् स्थानीयको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology