आज भाद्र कुशे औंशी अर्थात बाबुको मुख हेर्ने दिन सबै बाबाहरुलाई शुभकामना सङ्गै मेरो जस्तै बाबा नहुने तर बाबाको सम्पुर्ण भुमिका निर्वाह गरि दोहोरो जिम्मेवारी पुरा गर्नुहुने सबै महान आमाहरु लाई नमन र शुभकामना ।
आज विशेष दिन बाबा हुने,नहुने हामी सबैले फेसबुक रंग्याएका छौ । तर एकदिनको मुख हेराइले बाबाको सन्तान प्रतिको दायित्वबोध, बाबाले हामिलाइ हुर्काउन गरेको संघर्ष, दु:ख, त्याग समर्पण र माया भेटाउन र मुल्यांकन गर्न निकै कठिन छ ।
बाबाको मुख होइन खुट्टाका पैतला हेरौं किनकी हामिले त्यहाँ बाबाको बास्तबिक पीडा के हो त्यो भेट्टाउने छौं ।
हामी बाबाको मुख होइन हातमा खिइसकेका नङ हेरौं किनकी त्यहाँ हामीलाई हुर्काउन गरेका दु:ख र कष्ट देख्नेछौं ।
ब्याच्लर, डिग्री पढेका हामिहरु बाबाका हत्केला र पैताला पढौं ती चरचरी फुटेका हत्केला र पाउमै छ बाबाले हामीलाई यहाँ सम्म ल्याउन गरेको संघर्षका कथाहरु ।
हामिले बाबाका ती दुख, पीडा र संघर्षका कथाहरु अनुहारमा कहिल्यै देख्दैनौ न त तमाम बाबाहरु नै आफ्ना सन्तानलाइ देखाउन चाहानुहुछ । बरु उल्टै आफ्ना कैयौं पिडाहरु लुकाएर हामिलाइ मुस्कान दिनुहुन्छ । त्यो हामी आफै बुझ्ने प्रयास गरौं ।
बाबा लाइ उहाँको फोटो एक दिन फेशबुकमा राखेर होइन, एक दिन फलफुल र मिठाइ दिएर होइन सधै भरी माया दिएर सम्मान गरौं ।
आफ्ना सन्तानलाइ कांडाले पनि नछोओस भन्ने बाबा आमा नै त हुन । उहाहरु नै आफ्ना छोरा छोरी सक्षम, निस्ठावान र दुरदर्शि सन्तानको सपना देख्नु भएको हुन्छ आशीर्वाद दिनुभएकै हुन्छ । हाम्रा बाबा आमाका सपनाहरु पूरा गर्नेतर्फ सोचौं, अरुलाइ घात नगरौ नोक्सानी नपुर्याउं त्यसैमा नै हाम्रा बाबा आमा प्रशन्न हुनुहुन्छ ।
आजकै दिन जस्तै र मातातिर्थ औंशी जस्तै हामी सबैले सोंच्थ्यौं भने बृद्धाआश्रम सायदै बन्थे होला, सयौं बाबा आमाहरु बृद्धआश्रम मा जानू पर्थेन होला ।
आफ्ना बाबा-आमा लाई एकदिन मात्रै होइन सधै भरी सम्मान गरौं । उहाहरुले जसरी हामिलाइ यहाँ सम्म ल्याउन संघर्ष गर्नुभो त्यसैलाइ एनालाइसिस गरौं र उहाहरुको बाकी जिबनमा तनाब, भय सृजना नगरी उहाँहरुको बुढेसकालमा सहारा बनौं । यदि मातापिता स्वर्गवासी हुनुहुन्छ भनेपनी उहाहरुले हामिलाइ सधै नियालिरहनु भएको हुन्छ । गलत काम नगरौ, अर्कालाइ अप्ठ्यारोमा नपारौ । सकिन्छ राम्रो गरौ सकिँदैन अरुलाइ नराम्रो गराएर आफू राम्रो बन्ने नगरौं । अर्काको सधै भलाई गरौ र भलाइ सोंचौ यत्ती गरियो भने न तिर्थ धाउनुपर्छ न ब्रत बस्नुपर्छ ।
एकदिन फेसबुक, टुइटर र इन्स्टामा फोटो राखेर लभ यु बाबा, लभ यु आमा, मिस यु बाबा, मिस यु आमा भन्नू नै पर्दैन । जस्तो बाबा आमाले हाम्रो आबस्यकता पूरा गर्दिनु भयो त्यसै गरि अब हामिहरुले उहांहरुका आबस्यकता र रहरहरु पूरा गरौं, उहाहरुले हाम्रो भविस्यको लागि देख्नुभएको सपनाहरु पूरा गर्नेतर्फ लागौं ।
अन्त्यमा, फेरि पनि सबै बाबाहरु र म जस्तै बाबा नहुने तर बाबाको सम्पुर्ण भुमिका निर्वाह गरि दोहोरो जिम्मेवारी पुरा गर्नुहुने सबै महान आमाहरुलाई नमन, सु-स्वास्थ्य र दीर्घायूको शुभकामना ।
अशोक गौतम क्षितिज
२०७८ भदौ २२ कुशेऔशी
हाल- पपुवा न्युगिनी
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology