देवदह । रुपन्देहीको देवदह नगरपालिका–६ स्थित सरनवारी सिमीको लागि प्रख्यात छ । सिजनमा सरहनबारीवासीले ३ करोड बराबरको सिमी विक्री गर्छन् । बारीमै ब्यापारी पुग्ने र मोलतोल गरी विक्री हुँदै आएको यहाँको सिमी अब भने कोल्ड स्टोरमा राखेर सिजनपछि समेत बजारमा पठाइने भएको छ ।
नगरपालिकाको कृषि शाखाले परिक्षणको रुपमा यो वर्ष एक टन सिमी सुनवलस्थित कोल्डस्टोरमा पठाउने र सिजन सकिएपछि बजारमा लैजाने भएको हो । बिहिबार स्थानीयसंग कुरा गर्दै शाखा प्रमुख सुस्मिता गौतमले सिमी प्रवर्धनको लागि नगरपालिकाले कोल्डस्टोरको अवधारणा अगाडि सारेको बताइन् ।
"हामी यहाँको सिमीले उचित मूल्य पाओस् भन्ने चाहान्छौं । सिजन सकिएपछि सामान्यभन्दा राम्रो बजार सिमीले पाउने भएकोले १-२ महिना कोल्डस्टोरमा सुरक्षित गर्न सकियो भने सस्तोमै सिमी बेच्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।" स्थानीय सिमी उत्पादकहरूको भेलामा उनले भनिन्, "यो वर्ष सबै लागत नगरपालिकाले उपलब्ध गराउँछ । तपाईंहरुले थोरै थोरै गरेर १ टन सिमीको व्यवस्था गर्नुभयो भने त्यसलाई कोल्डस्टोरमा पुर्याउने, त्यहाँ लाग्ने आवश्यक चार्ज तिर्ने र पुन: सिमी तपाईंहरुलाई फिर्ता दिनेसम्मको व्यवस्था हामी मिलाउँछौं ।"
सोही कार्यक्रममा बोल्दै वडा नं ६ का वडाअध्यक्ष खेमबहादुर थापाले सरनवारीलाई तरकारी खेतीको हवको रुपमा विकास गर्दै जानुपर्ने बताए । "नगरपालिकाको कृषि शाखाले राम्रो अबधारणा ल्याएको छ । कोल्डस्टोरमा केही समय सुरक्षित रुपमा सिमी राख्न सकियो भने यसले राम्रो मूल्य पाउने छ ।" वडाअध्यक्ष थापाले भने, "परिक्षण सफल भएको खण्डमा स्थानीयस्तरमै कोल्डस्टोर बनाएर पनि राख्न सकिने र त्यसले सिमी विक्री नभएर वा राम्रो मूल्य नपाएर किसान दु:खी हुनुपर्ने अवस्थाको अन्त्य गर्नेछ ।"
कार्यक्रममा बोल्दै देवदह प्रेस क्लबका अध्यक्ष विष्णु पोखरेलले अर्गानिक तरकारी उत्पादनमा सरहनबारी अगाडि रहेको बताए । कोल्डस्टोरसंगै यहाँका किसानले भोगिरहेका सिंचाई र स्तरीय सडक लगायतका समस्याको समाधान तर्फसमेत नगरपालिकाको ध्यान जानुपर्ने उल्लेख गर्दै अध्यक्ष पोखरेलले ताजा सिमीसंगै यसको दाना र दालसमेत प्याकेजिङ्ग गरि विक्री गर्नेतर्फ सोच्नुपर्ने बताए । देवदह प्रेस क्लबले मिडिया फेस्टिवल गर्न लागिरहेको र आगामी फेस्टिवल सरहनबारीमै सिमी विशेष बनाउने उद्घोष गर्दै उनले सरहनबारी र सिमीको प्रचारप्रसारमा स्थानीय संचारमाध्यमले सहयोग गर्ने विचार व्यक्त गरे ।
सरनवारी कृषि सहकारी संस्थाका अध्यक्ष मानबहादुर गाहाको अध्यक्षता र कृषि प्राविधिक प्रविन्द्र मल्लको संचालनमा सम्पन्न कार्यक्रममा स्थानीय युवा लोकेन्द्र जर्घा लगायतले बोलेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology