Logo

२०८३, श्रावण २७गते


images
images

कृषि कर्मका दु:ख-सुख

कृषि पेशाले बिदेशिएका गुल्मीका युवा कृषि पेशामै राज गर्दै 

कृषि पेशाले बिदेशिएका गुल्मीका युवा कृषि पेशामै राज गर्दै 

images
  • कृषि पेशाले बिदेशिएका गुल्मीका युवा कृषि पेशामै राज गर्दै 
    images
    images

    माधव ज्ञवाली, गुल्मी ।  खाइलाग्दो ज्यान । भरिलो र हंसिलो अनुहार । कलकलाउँदो जोवान अनि सरल स्वभाव । जिल्लाको रुरुक्षेत्र गाउँपालिका - ४ पारिखर्कका दुई दाजुभाइ कमल अनि कपिल ज्ञवाली । एउटाले होटल म्यानेजमेन्ट त अर्कोले म्यानेजमेन्ट पढेका । यी दुई भाइ अहिले "दाजुभाइ कृषि फार्म" को म्यानेजमेन्टमा व्यस्त छन् ।

    images
    images
    images


    वि.स २०६८ सालमा होटल म्यानेजमेन्ट पढ्दै गरेका कमल गाउँमा केही गर्छु भनेर काठमाडौंदेखि गाउँ फिरेर कुखुरा पाल्न सुरु गर्छन् । सुरुमा करिब ५० हजार लगानी गरेर खोर निर्माण गरि १ सय कुकुरा पाल्न सुरु गरे उनले । "मेरो मन त तरकारी खेती तर्फ आकर्षित थियो तर पानीको निकै समस्या, त्यसैले त्यो बेला कुखुरा पाल्न सुरु गरेँ " विगत सम्झिदै उनले भने ।

    images
    images
    images


    तर, त्यो बेला ५० कुखुरा मरे । बाँकी ५० वटाबाट करिब ७ हजार आम्दानी गरेका उनले आधा कुखुरा मर्दा पनि संतोषजनक  आम्दानी मिलेपछि अझै ब्यवस्थित तरिकाले कुखुरा पाल्ने रहर उतिबेलै जागेको बताए । "घर नजिकै केही जग्गा लिजमा लिएर साढे ५ लाख लगानीमा २ देखि ३ हजार ब्रोइलर कुखुरा पाल्न थालेँ।" ज्ञवाली बताउँछन् । त्यसरी कुखुरा पाल्दा उनलाई एक लटमा ७० हजारसम्म नाफा मिल्थ्यो। 

    images
    images
    images

    लगानी डुबेपछि दुबईमा

    राम्रो प्रगति  गर्नेको खुट्टा नतान्ने ठाउँ  कहाँ  होला र? ज्ञवालीले गरिरहेको काम खै कसलाई देखिनसक्नु भएनछ, एकदिन कुखुरालाई खुवाउने पानी ट्याङ्कीमा अपरिचित ब्यक्तिले विष मिसाइदिएछन, जसका कारण सबै कुखुरा मरे । ल्याब परिक्षणबाट त्यो पुष्टि भएको उनको भनाई छ । 

    यहि घटनाले गाउँमा बसेर सफल कृषि कर्म गर्ने उनको लक्ष्य सबै भताभुङ्ग भयो। कल्पना पनि नगरेको उनलाई १२ लाख घाटा लाग्यो। पानीमा नै विष राखिदिएपछी फेरि कुखुरा पाल्ने हिम्मत आएन उनमा ।  कृषि गरौँ पानी छैन, अन्य पेशा गाउँमा खासै उपलब्धिमुलक देखेनन् उनले। लगानी पनि सबै डुबिसकेको थियो। 

    ज्ञवालीसंग अब एउटै बिकल्प थियो, वैदेशिक रोजगार । गाउँ फिरेको ४ बर्षमै उनी बिदेश उड्न बाध्य भए वि.स २०७२ बैशाखमा उनी आँखाभरी आँसु लिएर दुबईको लागि उडे। संकल्प थियो, डुबेको ऋण तिरेर पुनः गाउँमा गएर केही नयाँ गर्ने !


    करिब साढे ३ बर्ष दुबईमा उनले पसिना बगाए, रगत पोखे। गाउँको तुलनामा कमाई राम्रै थियो तर मन कत्ति खुसी थिएन । अर्काको लागि पसिना बगाउनुपर्दा ज्ञवालीलाई निकै पोलिरहेको थियो । घरीघरी घर फर्कुँ लाग्थ्यो तर डुबेको लगानी सम्झिँदा बस्नुपर्ने बाध्यता पनि थियो । 

    "एउटा फुलले अरुलाई सुगन्ध दिनको लागि मात्रै आँधी, हुरि,चट्याङ, घाम, पानी ईत्यादिको सामना गर्छ । अन्ततः फुलेर सुगन्ध फैलाउँछ नै। म पनि अब गाउँमै केही गर्छु, गाउँकै माटोसङ्ग लडिबुढी गर्छु भन्ने अठोट लिएर फर्किएँ।" उनी भन्छन् ।

     

    सपनाले सिंगारिएको कृषि जीवन 

    अङ्ग्रेजीमा एउटा उखान छ - 'इफ यु क्यान डृम इट, यु क्यान डु इट' अर्थात यदि तिमी सपना देख्छौ भने तिमीले त्यो गर्न पनि सक्छौ । ठ्याक्कै यो उखान अहिले  ज्ञवालीसङ्ग मेल खाएको छ। विगत ३ बर्षदेखी ज्ञवाली अहिले कृषि कर्ममा पुन: फरक शैलीमा होमिएका छन। उनलाई साथ दिन उनका भाइ कपिल ज्ञवाली पनि कृषि कर्ममै होमिएका छन। त्यति मात्रै हैन उनको पुरै परिवार नै कृषि कर्ममा होमिएको छ। 

    ३ बर्ष अघि  साढे ३ लाख लगानीमा टमाटर र काउली खेती गर्दै आएका ज्ञवालीले पहिलो बर्ष त्यति नाफा पाएनन् । "प्राविधिक ज्ञान थिएन, सिँचाइको पनि त्यति राम्रो ब्यवस्थापन हुन सकेन। जति लगानी त्यति बराबरको मात्रै उत्पादन बेच्यौँ।" उनले बताए । पहिलो बर्ष लगानी मात्र उठेको तर श्रम पुरै खेर गएकोले घाटा बेहोर्नुपरेको उनको भनाई छ । 

    मल्चिङ, थोपा सिंचाइ लगायत अन्य प्रविधि प्रयोग गरेमा कृषि कर्मबाट निकै राम्रो हुने बुझेपछि ३० रोपनी जग्गा लिजमा लिएर करिब २५ लाख लगानीमा ५५ वटा टनेल र एउटा १२ रोपनी जग्गामा एन्टिहेल नेट प्रविधी प्रयोग गरि ठूलो मात्रामा टमाटर खेती सुरु गरेको उनी बताउँछन् । टनेल पनि आफुहरु दुई भाइ मिलेर बनाएको ज्ञवालीको भनाई छ।


    अहिले सिँचाईको अभाव पनि छैन। उनीसङ्ग आफ्नै प्राइभेट लिफ्टिङ पानी छ। फार्मभन्दा ४ सय मिटर तलबाट लिफ्टिङ पानी ल्याई साढे २ लाख लिटर पानी अट्याउने प्लास्टिक पोखरी समेत बनाएको उनने बताए । 

    यसरी प्रविधिसङ्ग जुधेर खेती गर्दा अहिले पुरै लगानी उठाएर पनि ८ लाख भन्दा धेरै नाफामा पुगिसकेको ज्ञवालीको भनाई छ । दाजुभाइ कृषि फार्मले आफ्नो उत्पादन  आफै बिक्री गर्दै आएको छ। "स्वतन्त्र रुपमा आफैले बजारीकरण गरेका छौं बुचौलियाहरुले नाफा खान पाएका छैनन् । आफ्नो उत्पादन आफैले बजारीकरण गर्दा हुने नाफा र बिचौलियाहरुलाई दिँदा धेरै फरक पर्छ।" उनले भने। 

    अहिले करिब  ६ सय क्विन्टल टमाटर उत्पादन भएकोमा ४ सय क्विन्टल गुल्मी र बाँकी बुटवलमा लगेर बेचेको उनको भनाई छ। दैनिक ४० केजि अकबरे खुर्सानी पनि बेच्दै आएको उनी बताउँछन् । 

    आगामी बैशाखदेखि अरु कृषकले यदि आफुसङ्ग मिलेर स्वतन्त्र बजारमा उत्पादन बेच्न चाहेमा आफुले बजारीकरण  गरिदिने उनको भनाई छ। उनले यो बर्ष थप २० रोपनी जग्गा लिजमा लिएर फार्मलाई थप बिस्तार गर्न लागेका छन् ।


    नक्कली कृषक पोस्ने स्थानीय सरकार पेशेवर कृषि उद्यमी देख्दैन !

    बेला बेलामा नक्कली किसानले अनुदान पाउँने गरेको समाचार सार्वजनिक हुँदै आएका छन् । तर, नाकै मुनि पेशेवर कृषकको फार्म संचालन भइरहँदा पनि अझैसम्म गाउँपालिकाबाट ज्ञवालीको फार्म अनुगमन भएको छैन  । स्थानीय तहबाट कुनै अनुदान उनले पाएका छैनन् । "कुनै पार्टीको झोले भएको भए मैले अनुदान पाउँथे होला, तर म स्वतन्त्र किसान, टेबल टक गर्न जान भ्याउँदिन, उत्पादन तिर ध्यान दिन्छु । आजसम्म कसैले केही अनुदान दिएको छैन" उनले भने । 

    वास्तविक किसान पहिचान गरेर मात्र अनुदान उपलब्ध गराउनुपर्ने र कृषकलाई हौसला दिनुपर्ने उनको भनाइ छ। सरकारले कृषकलाई छुट्याइएको अनुदानमा आफ्नो पनि अधिकार रहेको उनी बताउँछन् । उनले फार्म संचालन गरेबापत  २ बर्षको कर समेत तिरिसकेका छन। 

    ज्ञवालीले गाउँमा रोजगारी समेत दिएका छन् । २ जना कामदार पहिलेदेखि नै निरन्तर काम गर्दै आएका छन भने  अन्य बेलामा पनि गाउँका धेरैलाई त्यहाँ रोजगार मिलेको छ। आगामी दिनमा सरकारले पनि आफ्नो कर्ममा साथ र सहयोग  दिए यस क्षेत्रकै नमुना कृषक बनेर देखाउने हिम्मत  २८ बर्षिया ज्ञवालीको  रहेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।