राजेश पराजुली, पोखरा । जापानका सांसदको नेतृत्वमा पोखरा आएको जापानी व्यवसायीको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेको छ ।
सांसद याजी कियोमी, माकोटो कोबायासी, काजुताका ओडारा, साकेइ ताकाकुराको नेतृत्वमा जापानका १६ जना व्यवसायीहरूको टोलीले नगर प्रमुख आचार्यसँग भेटवार्ता गरेको हो । भेटवार्तामा नगर प्रमुख आचार्यले पोखरा र जापानका बिचमा निकै लामो समयदेखि श्रम तथा प्रविधिको आदानप्रदान हुँदै आइरहेको बताए ।
पोखरामा जापान सरकारको तर्फबाट निकै महत्त्वपूर्ण परियोजना सञ्चालनमा रहेको जनाउँदै भविष्यमा समेत सञ्चालन गर्ने गरी कयौँ दूरगामी महत्वका परियोजनामा समझदारी भएको उल्लेख गरे । जापानमा रोजगारी तथा अध्ययनका सिलसिलामा ठूलो सङ्ख्यामा पोखरेली नागरिक गएको र त्यहाँ उनीहरूले राम्रो उपलब्धि हासिल गरिरहेको उनले बताए ।
पछिल्लो समय पोखरा महानगरपालिकाले दक्ष जनशक्ति तयार गर्न आवश्यक भाषा तथा सीपमूलक तालिमका कक्षा सञ्चालन गरेको उनले बताए । विभिन्न साझेदारसँगको सहकार्यमा भाषा तथा सीप विकासका कक्षा सञ्चालन गरिएको जनाउँदै नगर प्रमुख आचार्यले जापान नेपाली श्रमिक तथा विद्यार्थीका लागि समेत आकर्षक गन्तव्य बनिरहेको बताए ।
जापानी टोलीले जापानमा केयर गिभरका लागि श्रमिक अभाव रहको जनाउँदै सीपयुक्त जनशक्ति भए आफूहरू त्यसमा आवश्यक प्रक्रिया अगाडि बढाउन तयार रहेको जनाएको छ । जापानमा ज्येष्ठ नागरिकको हेरचाह केन्द्र सञ्चालन गरिरहेका उनीहरूले नेपाली श्रमिकको आतिथ्ययताले निकै प्रभावित भएको भन्दै त्यसमा आफूहरू थप श्रमिक लैजान इच्छुक रहेको बताएको छ ।
टोलीमा जापानका चार जना सांसदसहित १६ जनाको सहभागिता रहेको थियो । सो क्रममा दुईपक्षीय पर्यटन विकास, मितेरी सम्बन्ध र प्रविधि आदानप्रदानलगायतका विषयमा समेत छलफल भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology