राजेश पराजुली, पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले बागलुङ जैमिनी नगरपालिका वडा नं १ जैमिनीधामको निरीक्षण गरेका छन् ।
सो क्रममा मन्त्री थापाले जैमिनी ऋषिले तपस्या गरेको गुफा र जैमिनीधामलाई संरक्षण, पूर्वाधार निर्माण र प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न आवश्यक रहेको बताए ।
उनले भने, ‘कालीगण्डकीकै छेउछाउमा रहेको र प्राचीनकालमा जैमिनी ऋषिले तपस्या गरेको तपोभूमिका रुपमा चासो र चर्चा पाएको जैमिनी धामको संरक्षणमा लाग्नुपर्ने आवश्यकता देख्छु ।’
उनले स्थानीय तहसँग मिलेर जैमिनीधामको संरक्षण र प्रचारप्रसारमा काम गर्न प्रदेश सरकार तयार रहेको प्रतिवद्धता जनाए ।
वेदव्यास पुत्र जैमिनी ऋषिले योग साधना र तपस्या गरेको उक्त स्थलको धार्मिक पर्यटकीय महत्वलाई उजागर गर्न प्रदेश सरकार अगाडि बढ्ने उनले बताए ।
‘राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरले गति पाएको भन्दै मन्त्री थापाले राजमार्गमा गुड्ने सवारीसाधनमा हिँडेका पर्यटकलाई जैमिनीधामको ऐतिहासिक महत्व बुझाउन र धार्मिक पर्यटनको बढ्वा दिन आवश्यक रहेको स्पष्ट पारे ।
जैमिनी क्षेत्रको पर्यटकीय महत्वलाई उजागर गर्न प्रदेश सरकारले पहल गरिरहेको अवस्थामा यसको प्रवर्द्धन र विकासलाई पर्यटन सम्बद्ध सङ्घसंस्था र स्थानीयले जोड दिएको पाउँदा खुशी लागेको उनले बताए ।
मन्त्री थापाले पोखरा पर्यटनको राजधानी घोषणा भइसकेका अवस्थामा आसपासका गन्तव्यलाई समेट्नु जरुरी रहेको भन्दै यस विषयमा प्रदेश सरकार सचेत रहेको र सोही अनुसारको कार्यक्रम बनाउने स्पष्ट पारे ।
पर्यटन प्रवर्द्धनका लागि स्थानीयवासीमा देखिएको जागरुकताको मन्त्री थापाले प्रशंसा गरे । धार्मिक एवं पर्यटकीय स्थलको उपयोगका लागि सामुहिक प्रयास आवश्यक भएको उनले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology