बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–४ सत्यवती मन्दिरमा हरेक वर्ष लाग्ने मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । पुर्णिमाको अवसर पारी यहि कात्तिक २७ देखि ३० गतेसम्म सञ्चालन हुने उक्त मेलाका लागि तयारी तीब्र पारिएको सत्यवती ताल तथा मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
मेला व्यवस्थापनका लागि बुधबार मन्दिर परिसरमा सर्वपक्षीय छलफल समेत सम्पन्न भएको छ । तिनाउ गाउँपालिकाको आयोजनामा ताल तथा मन्दिर व्यवस्थापन समिति, वडाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत सबै सुरक्षा निकायका प्रतिनिधिहरुको सहभागितामा मेला व्यवस्थापन, शान्ति सुरक्षा, भक्तजनका लागि यातायात लगायत विषयमा छलफल भएको हो ।
गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले भक्तजनले दुःख नपाउने गरी व्यवस्थापनलाई चुस्त राख्न सुरक्षा निकाय, यातायात व्यवसायी, ट्राफिक प्रहरी, स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायसँग आवश्यक सुझावसहित सहयोगका लागि आग्रह गरे । मेलामा आउने भक्तजनको सहजताका लागि मन्दिरसम्म आउने मोटर बाटो मर्मत तथा सुधार गरिनुका साथै यातायात भाडादरमा समेत एकरुपता कायम गर्ने काम भएको अध्यक्ष श्रेष्ठले बताए ।
गाउँपालिका उपाध्यक्ष लालबहादुर थापाले मेला व्यवस्थापन तथा शान्ति सुरक्षाका लागि जिल्ला प्रशासनसहित सुरक्षा निकायका प्रनिधिहरुसँग छलफल गरी आवश्यक समन्वय गर्ने तयारी गरिएको बताए । मन्दिर परिसरमा लाइटिङको व्यवस्था तथा ठाउँ–ठाउँमा सिसिटिभी क्यामेरा जडान गरिनुका साथै मदिराजन्य पदार्थलाई निषेधित गरिएको उपाध्यक्ष थापाले जानकारी दिए । भाडादरमा एकरुपता ल्याउँदै मन्दिरसम्म पुग्नका लागि सिद्धार्थराजमार्गदेखि मन्दिरसम्म २ सय रुपैयाँ कायम गरिएको उनले जानकारी दिए । मेला अवधिमा सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्न नपाइने बताउँदै उनले ठाउँ–ठाउँमा ट्राफिक प्रहरी परिचालन गरी कडाईकासाथ लागू गरिने जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी तोय नारायण अधिकारीले मेलालाई सभ्य र भव्य बनाउन आवश्यक सुरक्षा गस्तिको व्यवस्था गरिएको जानकारी दिए । मेला अवधिमा भक्तजन स्वयमले समेत सजगता अपनाउनुपर्ने र भिडभाडमा हराउन सक्ने बहुमुल्य सामान तथा गरहँना नल्याउन आग्रह गरे । मेला अवधिमा मदिरा जन्य पदार्थ प्रयोग वा शान्ति सुरक्षा खल्बलिने गतिविधि गरेको भेटिएमा तत्काल नियन्त्रणमा लिएर कडा कारबाही गरिने उनले उल्लेख गरे ।
परम्परादेखि नै सत्यवतिमा चिच्याएर बर माग्ने अनौठो प्रचलन रहिआको छ । यस वर्ष विषेश जोग परेका कारण विगतका वर्षभन्दा भक्तजनको सङ्ख्या बढी हुने समितिका अध्यक्ष दानबहादुर गाहाले बताए । तिहारपछिको पूर्णिमामा सत्यवती मेला लाग्ने गर्दछ भने उक्त पूर्णिमा कार्तिक महिनाभित्र परेमा जोग परेको मानिने प्रचलन छ । प्रचलन अनुसार जोग परेको समयमा मन्दिरमा पूजा गरेर वर मागेमा सत्यवती बजैले पूरा गरिदिने जनविश्वास रेहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गाहाले जानकारी दिए । परापूर्व कालमा सत्यवती बज्यै घना जङ्गलकोबीचमा आई तपस्या गरेपछि शक्ति प्राप्त गरेको किमबदन्तीमा उल्लेख छ ।
सत्यवती बज्यै कानले नसुन्ने बहिरी भएकाले भक्तजनले सत्यवती ताल नजिकै पुगेर चिच्याएर मनमा चिताएको बर मागेमा बज्यैले पूरा गरिदिने विश्वास गरिन्छ ।
सत्यवती बजैसंग बर माग्ने भक्तजनले बाँस, निगालो, साल आदि जातका लिङ्गो लिएर रातिको समयमा तालमा गाड्ने र आफूले गाडेको लिङ्गो भोलिपल्ट चिनेर त्यही पूजा गरेपछि घरमा फर्कने परम्परा रहेको छ । ताल नजिकै रहेको मन्दिरमा बोका, पाठी लगायतको बली चढाउनुका साथै परेवा उडाउने प्रचलन रहेको छ ।
यहाँ परापूर्व कालदेखि नै बर माग्नका लागि नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउने गरेको स्थानीयहरु बताउँछन् । यो वर्ष दुई लाखभन्दा बढी भक्तजन पुजाआजा तथा मेलामा सहभागी हुने अपेक्षा गरेको मेला व्यवस्थापन समितिले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology