देवदह । रुपन्देहीको देवदहमा जारी वडा स्तरीय लिग क्रिकेट प्रतियोगिताको उपाधिका लागि वडा नं ८ र वडा नं ६ विच भिडन्त हुनेभएको छ । बुधवार भएको सेमिफाइनल खेलमा वडा नं २ लाई पराजित गर्दै वडा नं ८ तथा वडा नं १० लाई पराजित गर्दै वडा नं ६ ले फाईनल यात्रा तय गरेका हुन् ।
प्रतियोगिताको पहिलो सेमिफाइनलमा टस जितेर ब्याटिङ्ग रोजेको वडा नं ८ ले संकेत भट्टराईको २६ रन, प्रकाश भण्डारीको २२ तथा अजय थापामगर को १३ रनको मद्धतले ५ विकेट खर्चिएक १०४ रनको योगफल तयार ग¥यो । वडा नं २ का अमित भट्ट जितेन्द्र बानियाँ र अमन पोखरेलले समान एक, एक विकेट लिए ।
१०५ रनको लक्ष्य सहित मैदानमा उत्रिएको वडा नं २ का लागि समित ठकुरीले २८ तथा जितेन्द्र बानियाँले ३५ रन बाहेक अन्य खेलाडी उत्कृष्ट लयमा आउन नसक्दा ८६ रनमा समेटिन पुग्यो । वडा नं २ लाई सस्तैमा समेट्न आशिष पाण्डेले २, प्रकाश भण्डारी, दिपक भण्डारी र सुवास भण्डारीले १÷१ विकेट लिए । १८ रनले पराजित भएसँगै वडा नं २ को उपाधि चुम्ने सपना अधुरै रह्यो । खेलमा संकेत भट्टराई म्यान अफ दि म्याच घोषित भए ।
यसैगरी बुधवार नै सम्पन्न दोस्रो सेमिफाईनलमा वडा नं १० लाई ११ रनले पराजित गर्दै वडा नं ६ ले फाईनलको लागि मार्ग प्रसस्त ग¥यो । टस जितेर पहिले व्याटिङ्ग गरेको वडा नं ६ ले सागर काफ्लेको २०, विशाल क्षेत्रीको १३ तथा कमल जैसीको १२ रनको मद्धतमा ९ विकेट गुमाउँदै ७५ रन बनायो । वडा नं १० का विशाल खाती र रमेश राईले समान ३÷३ विकेट तथा प्रदिप वाग्ले, अनुप राई निरज अर्याल र विनायक खनालले १÷१ विकेट लिए । उत्कृष्ट बलिङ्ग गरेपनि ब्याट्समेन चल्न नसक्दा वडा नं १० ले हार व्यवहोर्नुपरयो ।
७६ रनको झिनो लक्ष्य सहित मैदानमा उत्रिएको वडा नं १० को लागि अनुप राई १९, सुरेश राना १६, र जिवन अर्यालले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंङ्क छुन सकेनन् । वडा नं १० लाई ६४ रनको झिनो स्कोरमा रोक्न वडा नं ६ का प्रेम भुर्तेलले ३ विकेट लिए भने अभि मल्ल र अर्जुन रायमाझीले समान १÷१ विकेट लिए । खेलमा प्रेम भुर्तेल म्यान अफ दि म्याच घोषित भए ।
देवदह नगरका विभिन्न वडा बाट १२ टिम सहभागि प्रतियोगिताको फाईनल प्रतिष्पर्धा बिहीवार भोली विहान ११ बजे हुने आयोजक क्लवका अध्यक्ष अजय थापाले बताए । यसअघि विहान ९ बजे देवदह लेजेन्ड र देवदह नगरपालिकाका कर्मचारी विच मैत्रीपूर्ण खेल हुने अध्यक्ष थापाले जानकारी दिए ।
कार्तिक ९ गतेबाट सुरु भएको प्रतियोगितामा प्रथम हुनेले नगद ३० हजार रुपैंया तथा फस्ट रनर अपले १५ हजार रुपैंया प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट ब्याट्समेन र बलरलाई समेत पुरस्कृत गरिने छ । समापनको अवसरमा देवदहमा रहेर क्रिकेट खेलमा योगदान पुर्याउने खेलाडीहरुलाई सम्मान गरिने खेल संयोजक प्रकाश भण्डारीले जानकारी गराए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology