देवदह । देवदह नगरपालिकाले अन्तराष्ट्रिय करातें प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मान गरेको छ । भारतमा भएको खुल्ला अन्तराष्ट्रिय करातें प्रतियोगितामा देवदहबाट सहभागी भएको टिम ९ स्वर्ण र ५ कास्य सहित उपविजेता बनेपछि नगरपालिकाले सम्मान गरेको हो ।
भारतको वेस्ट बङ्गालमा सम्पन्न नेपाल, भारत र बंगलादेश गरि तीन देशका टिमको बिचमा भएको खुला अन्तराष्ट्रिय प्रतियोगितामा देवदहबाट गएका खेलाडी उत्कृष्ट प्रदर्शन सहित उपविजेता बनेका थिए ।
कराते खेलाडी शोभाखर पन्थले व्यवस्थापन गरेको टिममा गामु ध्वज मल्ल टिम कोच तथा चित्र बहादुर गुरुङ र मनिष रोकाहा अफिसियल रहेका थिए । प्रतियोगितामा प्राइम गुरुङ, ममता विश्वकर्मा, सुमिना रोका मगर, सुगम बोहोरा क्षेत्री, सुगम क्षेत्री, समिर ध्वज मल्ल, फिलेमन सुर्यवंशी, विशान थापा, रिजन बुढा मगर, प्रतिक विश्वकर्मा, निराजन डुम्रे, प्रेमकली सारु मगर, अनुज श्रेष्ठ र सक्षम थापाले सहभागिता जनाएका थिए ।
खेलाडी सम्मान कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेलले देशको नामसंगै आफु बस्ने क्षेत्र देवदह नगरपालिकाको समेत गौरब बढाएको बताए । स्वास्थ्य र राष्ट्र दुवैको लागि खेल अपरिहार्य रहेको उल्लेख गर्दै उनले नगरपालिकाले खेलको विकासमा आवश्यक लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत रमेश गिरी लगायतको उपस्थिति रहेको थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology