पोखरा । नेपाल समाजवादी पार्टीका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराई देशमा बारम्बार हुने सत्ता समीकरण फेरबदल र पछौटेपन हटाउन प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था आवश्यक भएको बताएका छन् ।
पोखरामा शनिबार नेपाल समाजवादी पार्टीको महाधिवेशन आयोजक समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले शासन प्रणालीमा परिवर्तन नगरी देशको विकास र समृद्धि सम्भव नहुने बताए ।
“नयाँ संविधान बनेपछि पनि उही पुरानै दलहरूले उसै गरी पालैपालो शासन गरेको देखियो,” उनले भने, “प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था नभई न देशमा स्थिरता कायम हुन्छ, न आर्थिक प्रगति सम्भव छ।” शासनमा व्यवस्थामा यो परिवर्तनका लागि नयाँ शक्ति जरुरी भएको उनको दावी छ ।
२०७२ असोजमा नयाँ संविधान बनेपछि नेकपा (माओवादी केन्द्र) परित्याग गरेका डा. भट्टराईले नयाँ शक्ति नामक अभियान चलाएका थिए । त्यही अभियानलाई रूपान्तरण गर्दै नेपाल समाजवादी पार्टी बनेको हो। नेपाल समाजवादी पार्टीमा बारम्बार विभाजन र नेता, कार्यकर्ताको पलायनको कारणबारे सोधिएको प्रश्नमा नयाँ शक्ति निर्माण हुन केही समय लाग्ने उनले उल्लेख गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology