काठमाडौँ । नेपालले शुक्रवार अमेरिका विरुद्धको टी- २० सिरिजको पहिलो खेल खेल्दै छ । नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि शुरु हुने यो खेल अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुने छ ।
नेपाल र अमेरिकाबीच यस अघि २०१५ मा एक मात्र टी-२० खेल भएको छ । टी-२० विश्वकप छनौट अन्तर्गतको सो खेल नेपालले जितेको थियो । त्यसयता नेपाल र अमेरिकाबीच टी-२० खेल भएको छैन ।
शुक्रवारको खेलका लागि नेपाली स्पिनर सन्दीप लामिछाने भने उपलब्ध हुने छैनन् । सन्दीप अमेरिकाको भिसा नपाएका कारण क्यानडाबाट नेपाल फर्किएका छन् । क्यान स्रोतका अनुसार सन्दीपको भिसा प्रक्रिया शुरु भएपनि अहिलेसम्म भिसा प्राप्त भएको छैन ।
अमेरिकामा रहेको नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, ललित राजबंशी र देव खनाल रहेका छन् ।
त्यस्तै अमेरिकाले पनि नेपालविरुद्धको टी-२० सिरिजका लागि १५ सदस्यीय टिमको घोषणा गरेको छ । अमेरिकी टिममा मोनांक पटेल (कप्तान), एन्ड्रिज गौस, अभिषेक पराडकर, एरोन जोन्स, हरमित सिंह, जुआनोय ड्रिसडेल, मुहम्मद अली खान, मिलिन्द कुमार, नोस्थुषा केन्जिगे, जसदीप सिंह, सौरभ नेत्रावलकर, साइतेजा मुक्कामल्ला, शायन जहांगीर, उत्कर्ष श्रीवास्तवा र यासिर मोहम्मद रहेका छन् ।
नेपालले सिरिजको दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार खेल्ने तालिका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology