देवदह । वि सं २०८१ साउन ११ गते ठूलो बर्षा भयो । अत्यधिक गर्मीको बीचमा भएको वर्षाले मौसम शितल बनायो । धेरैलाई एक प्रकारको राहत मिल्यो । तर वर्षाले सबैलाई हर्ष भने दिएन । कैयौं ठाउँमा डुवान भयो भने केही घर भत्किए । त्यहि साउने झरीले देवदह-७ मदनग्राम टोलमा बस्ने ७७ वर्षिया जेष्ठ नागरिक तथा एकल महिला लिलावती क्षेत्रीको घर भत्काइदियो ।
छोरी तर्फको एउटा नाती सहित सानो छाप्रोमा बस्दै आएकी लिलावतीमाथि साउने झरी वर्षा होइन, बज्र बनेर बजारियो । दु:खमाथि झन् दु:ख भनेझै साँझबिहान के खाने भन्ने पिरलोमा बाचिरहेको यो परिवारलाई अब कहाँ बस्ने भन्ने पिरलो समेत थपियो ।
यसैबीच लिलावतीको दु:खमा मलम लगाउन केही स्थानीय युवाहरू सरिक भए । स्थानीय व्यवसायी चन्द्रकान्त खरेल (ध्रुव) सहितका युवाहरूले लिलावतीको भत्केको घर एक महिनामा बनाइदिने बचन दिए ।
बचन अनुसार साउन २१ गते उनीहरूले घर बनाउने कामको सुरुवात गरे । संचार माध्यम र सामाजिक संजालमार्फत सहयोगको लागि अपिल गरे । जसको झन्डै ७० दिनमा घर निर्माण गरेर बिहिबार एक कार्यक्रमबीच लिलावतीलाई घर हस्तान्तरण गरिएको छ ।
घर हस्तान्तरण कार्यक्रममा बोल्दै स्थानीय युवा चन्द्रकान्त खरेल (ध्रुव) ले युवाले आलोचना गरेर मात्र बस्ने होइन, अगाडि सरेर यो समाजप्रतिको उत्तरदायित्व पनि पुरा गर्ने हो भन्ने लागेर घर निर्माण कार्य सुरु गरिएको बताए । 'सबैतिर आर्थिक मन्दी छ, सहज थिएन । तर पनि आट गर्नुपर्छ, एक आमा समानका जेष्ठ नागरिक र एकल महिलालाई खुल्ला आकाशमुनि राखेर हामी घरभित्र बस्नु हुन्न भन्ने लागेर काम सुरु गरियो ।' उनले भने, 'सबैको सहयोगले घर निर्माण भएको छ । यो हामीले हाम्रो समाजप्रति निर्वाह गरेको सानो भूमिका मात्रै हो भन्ने लाग्छ ।'

कार्यक्रममा बोल्दै घर निर्माणको लागि आर्थिक संयोजन गरेका स्थानीय युवा तथा मदनग्राम टोल विकास संस्थाका अध्यक्ष लक्ष्मण उपाध्यायले घर निर्माण गर्दा दुई लाख ७९ हजार ९११ रुपैयाँ खर्च भएको बताए । जसका लागि आर्थिक र जिन्सी गरि दुई लाख १६ हजार ५५५ रुपैयाँ संकलन भएको र ६३ हजार ३५६ रुपैयाँ अपुग भएको बताए । घर निर्माण गर्न देश विदेशमा रहेका युवा तथा व्यवसायीहरूले सहयोग गरेको उनको भनाई छ ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिका नगर प्रमुख ध्रुवप्रसाद खरेलले युवाहरूको कामको प्रशंसा गरे । विपदमा नगरपालिकाले सबैलाई सहयोग गर्दै आएको उल्लेख गर्दै उनले घर निर्माण गर्दा अपुग भएको रकम नगरपालिकाले व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । 'हरेक दिन सहयोगको नाममा हामीले एक लाखको हाराहारीमा रकम छुट्याउदै आएका छौं । लिलावती र उहाँजस्ता असहायहरूको साथमा यो समाज छ र सिंगो नगरपालिका छ ।' उनले भने, 'तपाईं हामीले चाह्यौं भने काम गर्न सकिन्छ भन्ने एउटा उदाहरण यो घर निर्माण कार्य हो ।'
कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले स्थानीय सरकार स्वायत्त सरकार भएको हुनाले मौलिक प्रकारको मोडल बनाएर सामाजिक काम गर्न सक्ने बताए ।
कार्यक्रममा देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्णप्रसाद अधिकारी, नेकपा एमालेका नेता प्रकाश अर्याल, नेकपा माओवादी केन्द्रका नेता मोतिलाल ढकाल, देवदह आदर्श बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन अध्यक्ष अर्जुन गैरे लगायतले बोलेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology