देवदह । अपारदर्शी ट्राफिक चेकिङ र नदीजन्य पदार्थ चोरी पैठारी रोक्न प्रहरीलाई आग्रह गरिएको छ । बुधबार स्वतन्त्र नागरिक अभियान देवदहले देवदह प्रहरी चौकी खैरेनीलाई चाडपर्व लक्षित अपारदर्शी ट्राफिक चेक जाँच र नदिजन्य पदार्थमा भैरहेको चोरी पैठारी रोक्न आग्रह गरेको हो ।
अभियानका प्रमुख प्रमोद खनालले नदिजन्य पदार्थको चोरी निकासी बढेकाले यसलाई कसरी न्युनिकरण गर्ने भन्नेमा प्रहरी गम्भीर हुनुपर्ने बताए । प्रहरीलाई राजनितिक दबाब हुने भन्ने जनगुनासो आएको उल्लेख गर्दै उनले स्वतन्त्र अभियानले प्रहरीलाई आवश्यक सहयोग गर्ने बताए । उनले भने, "रातारात चोरी निकासी हुन्छ । ८-१० वटा ट्याक्टर मार्फत ढुङ्गा चोरी गर्ने र २/३ बजेको समयमा टिप्परमा लोड गरेर बाहिरिने अवस्था छ । यसमा प्रहरीको मिलेमतो छैन भन्ने नागरिकलाई आभास दिलाउन प्रहरीले भूमिका खेल्नुपर्छ ।"
अभियन्ता धनबहादुर अधिकारीले जंगल तथा ग्रामीण भेगका एकान्त ठाउँमा प्रहरी चेकिङ गरिने र प्रशिक्षणभन्दा जरिवानामा जोड गरिएको पाइएकोले नागरिकसंग पैसा असुल्ने उद्देश्यले गरिने ट्राफिक जाँचमा आर्थिक अनियमितता हुन सक्ने बताए ।
त्यसैगरी अर्का अभियन्ता तेजु अर्यालले चाडपर्व समयमा चोरीका घटनामा वृद्धि हुने उल्लेख गर्दै उनले नियन्त्रणको लागि आवश्यक तयारी गर्न प्रहरीलाई आग्रह गरे ।
अभियन्तासंग कुरा गर्दै देवदह प्रहरी चौकीका इञ्चार्ज एक्कबहादुर नेपालीले बच्चालाई कसरी लागू पदार्थको दुर्व्यसनीबाट अलग्याउन सकिन्छ भनेर सबै स्कुलमा अभिमुखिकरण गरिएको बताए । उनले नागरिकले आफूहरू घरबाहिर जाँदा सामाजिक सन्जालमा विवरण पोस्ट्याउने र त्यसैको आधारमा समेत घरमा चोरी हुने गरेकोले नागरिक पनि त्यसप्रति सजग हुनुपर्ने बताए । खोला अनुगमन लगायतका कार्यमा प्रहरीले थप निगरानी गर्ने प्रतिबद्धता समेत उनले जनाए ।
देवदहमा क्रियाशिल स्वतन्त्र नागरिक अभियानले स्थानीयस्तरमा हुने भ्रष्टाचार र बेथितिबारे सरोकारवाला निकायलाई जानकारी गराउंदै सकारात्मक दबाब दिने जनाएको छ । सेतोमसीसंग कुरा गर्दै अभियानका प्रमुख खनालले दलभन्दा माथि उठेर 'भ्रष्टाचाररहित सुशासनका लागि हाम्रो खबरदारी, स्थानीय सरकारमा मेरो जिम्मेवारी' भन्ने नारासहित अभियान संचालन गरेको बताए ।
उक्त अभियानले राजनितिक दलमा आवद्धहरूलाई दलको सदस्यता त्याग गर्न अनुरोध समेत गर्दै आएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology