राजेश पराजुली, पोखरा । पोखरा महानगरपालिका वडा नं २४ कास्कीकोटमा दहीको होली खेलिएको छ । श्रीकृष्ण जन्माअष्टमीको अवसरमा भगवान श्रीकृष्णको जन्म भएको भोलिपल्ट मंगलबार दहीको होली खेलिएको हो । कास्कीकोटमा परापूर्वकालदेखि दही जात्रा हुँदै आएको छ ।
गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिको आयोजनामा दहीको होलीमा सयौँ मानिसको सहभागिता रहेको कार्यक्रम संयोजक ठाकुरप्रसाद त्रिपाठीले जानकारी दिए । यो जात्रा संरक्षणमा स्थानीयले विशेष चासो देखाउँदै आएका छन् । दहीको होली खेल्ने परम्परा अन्य स्थानमा नरहेको र कास्कीकोटमा मात्र रहेको समिति सचिव तथा कार्यक्रम संयोजक त्रिपाठीले बताए ।
यस पटक विभिन्न सांस्कृतिक झाँकी बाजा गाजासहित जात्रा निकालिएको थियो । अन्य ठाउँमा श्रीकृष्णको जन्म हुनु भन्दा पहिले दिनमा नै नाचगान तथा जात्रा निकाल्ने गरिन्छ । तर कास्कीकोटमा मात्र श्रीकृष्ण जन्मेको भोलिपल्ट मात्र दहीको होली खेलेर पर्व मनाउने गरिन्छ । स्थानीयले विगत १२ वर्षदेखि दहीको होली एकापसमा छ्यापेर दही जात्रा मनाउने गरेका छन् ।
मन्दिरका व्यवस्थापक अमाली खीमबहादुर कार्कीका अनुसार जात्रामा अन्य साँस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो । सम्पदा संरक्षण मञ्च कास्कीकोट, नेपाल वृन्दावन धाम र स्थानीयले दही जात्रा सञ्चालन गर्दै आएका छन् ।
आगामी वर्षमा कास्कीकोटको उच्च भागमा रहेको औलधाममा गएर जात्रा समापन हुने भएको नेपाल वृन्दावन धाम कास्कीका अध्यक्ष ओमप्रसाद सुवेदीले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology