राजेश पराजुली, पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ नारेश्वरचोकस्थित मुक्तिनाथ सपिङ सेन्टरमा सञ्चालक आफैले आगो लगाएको कास्की प्रहरीले जनाएको छ । यही साउन १६ गते राति उक्त पसलमा आगलागी हुँदा करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको दावी गरिएको थियो ।
अनुसन्धान गर्नेक्रममा बीमा रकम ठगी गर्ने उद्देश्यले सञ्चालक आफैले आगो लगाएको पाइएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ । पक्राउ पर्नेमा पोखरा-१८ ड्यामसाइडका ३६ वर्षीय सुजन गहतराज र विरौटाका ४३ वर्षीय पवन नेपाल छन् । बीमा रकम ठगी गर्ने उद्देश्यले नै उनीहरु आफैले पसलमा आगो लगाएको विभिन्न प्रमाणले पुष्टि गरेको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । उनीहरुले पवित्रा अधिकारीको नाममा पसल सञ्चालन गर्दै आएका थिए ।
दुवै सञ्चालकले सल्लाह गरेर नै राति पसलमा आफैले सलाई कोरेर आगो लगाएको बयानकाक्रमा स्वीकार गरेको डीएसपी शर्माले जानकारी दिए । उक्त पसलको दुई करोड बढीको बीमा गरेको र पसलमा आगलागी भएको भोलिपल्टै बीमा दावीका लागि निवेदन दिइएको पाइएको उनले बताए ।
प्रहरीका अनुसार सुरुमा सञ्चालकले इन्भर्टरको तार सर्ट भएर आगो लागेको बताए पनि इन्भर्टर कम्पनीका प्रतिनिधिले इन्भर्टरबाट आगलागी नहुने र विद्युत प्राधिकरणले सो पसलको विद्युतमा कुनै कैफियत नभएको जानकारी गराएपछि उनीहरुको बद्मासी स्पष्ट भएको थियो ।
पक्राउ परेका दुवैविरुद्ध आपराधिक उपद्रव गर्न नहुने शीर्षकमा मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology