देवदह । रूपन्देहीको देवदहमा महिनावारी तथा प्रजनन स्वास्थ्य सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार रोटरी क्लब अफ देवदहले देवदह आदर्श बहुमुखी क्याम्पसमा अध्ययनरत छात्राहरूको लागि महिनाबारी तथा प्रजनन स्वास्थ्य सम्बन्धि कार्यक्रम गरेको हो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले महिनावारी स्वभाविक र प्राकृतिक प्रक्रिया भएको बताए । समाजमा अझै पनि महिनावारीसँग सम्बन्धित थुप्रै मिथक र अन्धविश्वासहरू रहेको र त्यसले महिलाहरूलाई मानसिक तनाव दिने गरेको उल्लेख गर्दै वक्ताहरूले महिनावारीको बेला महिलालाई सामान्यभन्दा धेरै सम्मान र आरामको आवश्यकता पर्नेमा जोड दिए ।
कार्यक्रममा सहजीकरण गर्दै डा. निशान्त कुमार ठाकुरले महिनावारीको समय स्वच्छता अपनाउनु, नियमित स्वास्थ्य जाँच गर्नु र सही पोषण लिनु स्वास्थ्यको लागि महत्वपूर्ण हुने बताए ।

क्लबका अध्यक्ष विष्णु पाठकले स्वास्थ्य, शिक्षा, महिला सशक्तीकरणजस्ता क्षेत्रमा रोटरीले काम गरिरहेको बताए । समाजमा महिनावारी सम्बन्धि चेतना फैलाउन भूमिका खेल्ने उद्धेश्यले कार्यक्रम गरिएको बताउंदै उनले दिदीबहिनीहरूलाई सहयोग गर्न, उनीहरूको समस्या सुन्न र समस्या समाधानको प्रयास गर्न अनुरोध गरे । देवदह रोटरीले समाजका हरेक तहका व्यक्तिहरूको जीवनस्तर उकास्न विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको उल्लेख गर्दै उनले भने, "यस कार्यक्रम मार्फत हामी हाम्रो दिदीबहिनीहरूलाई महिनावारी स्वास्थ्य र प्रजनन क्षमताको बारेमा सही जानकारी प्रदान गर्न चाहन्छौं ।"
कार्यक्रमममा क्लबका संस्थापक अध्यक्ष समेत रहेका क्याम्पस प्रमुख जयकिसान अधिकारी, निबर्तमान अध्यक्ष डा सुन्दर पाण्डे
सचिव नारायण भण्डारीलगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology