देवदह । देवदहको खयरडाँडामा उत्खननको क्रममा भेटिएका ऐतिहासिक वस्तुहरु संरक्षणको लागि लुम्विनी विकास कोषमा लगिएको छ । देवदह नगरपालिकाको आर्थिक सहयोगमा भएको खयरडाँडा उत्खननको क्रममा भेटिएका वस्तुहरु देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलको रोहवरमा लुम्विनी विकास कोषमा लगिएको हो ।
करिव एक महिना लगाएतर खयरडाँडामा गरिएको उत्खननको क्रममा ऐतिहासिक ईनार भटिएको र सो ईनारमा कौडा, माटोको करुवा, फलामको बञ्चरो, भाँचिएको फलामको हँसिया, माटोको घैंटो, धार लगाउने ढुंगा लगायत सामग्री फेला परेको लुम्विनी विकास कोषका पुरातात्व अधिकृत हिमाल उप्रेतीले जानकारी दिए ।
उप्रेतीका अनुसार उत्खननको क्रममा भेटिएका माटोको भाँडाहरुलाई जोडेर पुनः देवदह नगरपालिकालाई हस्तान्तरण गरिनेछ । उत्खननको क्रममा भगवान गौतम बुद्धको जन्मस्थल लुम्विनी र कपिलवस्तुको तिलौराकोटमा पाईने वस्तुहरु समेत फेला परेको उप्रेतीले बताए । बुद्धकालिन अवस्थामा ईट्टाको प्रयोग नहुने तर माटो र काठको मात्र प्रयोग गरिने भएकोले वास्ताविक देवदह कहाँ भन्ने एकिन हुन नसकेको उप्रेतीको भनाई छ ।
देवदहका बिभिन्न क्षेत्रको उत्खननका क्रममा भेटिएका सवै संरचनाहरु महत्वपूणर् रहेपनि खयरडाँडामा फेला परेको ईनारको बिषयमा अध्ययनपछि मात्र सबैकुरा थाहा हुने उप्रेतीले बताए । उत्खनन पछि खयरडाँडामा भेटिएको ईनारलाई नगरपालिकाको आग्रहमा ट्रस निर्माण गरि संरक्षण गरिएको छ । सो क्रममा भेटिएका पर्खालहरुलाई भने प्लाष्टिकले छोेपेर पुरिएको उप्रेतीले जानकारी दिए ।
देवदहमा रहेका ऐतिहासिक स्थलहरुको उत्खननको लागि आगामी बर्षपनि बजेटको व्यवस्था गरिएको नगर प्रमुख धु्रवप्रसाद खरेलले बताए । देवदहमा पुरातात्विक क्षेत्रहरु धेरै रहेकाले बार्षिक रुपमा बजेटको व्यवस्था गरेर लुम्विनी विकास कोष र पुरातत्व विभाग संगको समन्वयमा उत्खनन कार्यलाई निरन्तरता दिइने खरेलको भनाई छ ।
यो बर्ष देवदह नगरपाकिकाको १० लाख रुपैंया बजेटबाट खयरडाँडाको उत्खनन कार्य सुरु गरिएको थियो । उत्खनन कार्यका लागि बरिष्ठ पुरातत्व अधिकृत उप्रेतीको नेतृत्वमा पुरातत्व अधिकृत राजेश परियार, लुम्बिनी विकास कोषका नमराज अधिकारी, चन्द्रप्रकाश पाठक, अन्तर हुसेन मुसलमान र विज्ञका रुपमा शुभेच्छा पोख्रेल लगाएतको टोलि खटिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology