राजेश पराजुली, पोखरा । पर्यटकीय राजधानी पोखराबाट फेवातालको किनार र डाँडैडाँडा पर्वतको सेतीवेणी हुँदै अर्को पर्यटकीय गन्तव्य गुल्मीको रिडीसम्म पुग्ने सडकको ट्रयाक खुलेको छ । पोखरा–रिडी सडक कास्कीको पोखरा महानगरपालिका–२३ भदौरे तामागीस्थित ठूलो भिरमा खोलिएको नयाँ ट्रयाकको काम सकिएसँगै ट्रयाक खुलेको हो ।
ट्रयाक खुलेसँगै पर्वतको विहादी गाउँपालिकामा पर्ने विश्वकै ठूलो शालिग्राम शिला भएको स्थान सेतीवेणीसम्म सीधा यातायात सञ्चालन गर्न सकिने भएको छ । पोखराबाट–पामे–ठुलाखेत–भदौरे–राम्जा–आर्थर–कार्किनेटा–लुङ्खु–उरामपोखरा–सेतीवेणी हुदै रिडी पुग्ने सडक ५६ दशमलव २ सय १८ किलोमिटर लामो छ । सडकको अधिकांश भागमा ट्रयाक खुलिसकेको छ भने केही भागमा स्थानीय सरकारले कालोपत्रसमेत गरेका छन् ।
पोखराबाट उत्कृष्ट पर्यटकीय गन्तव्यमा परेका पञ्चासे, महाशिला, सेतीवेणी हुँदै रिडीसम्मको सडकलाई वैकल्पिक राष्ट्रिय राजमार्गको रुपमा आर्थिक वर्ष २०७७÷७८ को बजेटमा समेटिएको थियो । गत आर्थिक वर्षमा सडक डिभिजन कार्यालय पोखरा मार्फत दुई करोड बजेट विनियोजन भएर ट्रयाक खुलाउने काम भएको हो ।
सडक डिभिजन कार्यालय पोखराका अनुसार यो सडक नालीसहित नौ मिटर चौडा हुनेछ भने सडकलाई पाँच मिटर चौडाइ मात्रै कालोपत्रे गरी दुवैतर्फ एक÷एक मिटरको साइकल लेन बनाउने तयारी रहेको इन्जिनियर उज्ज्वल शर्माले बताए । यो सडकमा १० देखि २० मिटर लम्बाइका साना १४ पुल बनाउनुपर्ने छ भने दुईदेखि ६ मिटरसम्मका ११ आरसिसी स्लाब बनाउनुपर्छ । सबै सडकमा ह्युमपाइप कल्र्भट दुई सय १४ छन् ।
पोखराबाट डाँडैडाँडा सेतीवेणीदेखि पोखरासम्म बन्ने भएकाले ठूला पुल तथा धेरै कल्र्भट नपर्ने हुँदा यो सडक तुलनात्मक रुपमा सस्तोसमेत पर्ने उनको भनाई छ । पर्वत जिल्लाका सात स्थानीय तहमध्ये छवटा स्थानीय तहलाई प्रत्यक्ष लाभान्वित हुने छन् ।
यो सडकअन्तर्गत कास्कीको ठुलाखेत, चैनपुर, भदौरे तामागी, चित्रे, आर्थर, खुम, लाम्तुन, दुक्तान, देउराली, गेप्ताङमा रेहका होमस्टेको प्रवद्र्धनका साथै मौलिक संस्कृति, चालचलन, रीतिरिवाजको जगर्ना गर्न समृद्ध ठूलो मद्दत पुग्ने राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology