काठमाडौं । कक्षा १२ परीक्षा शुक्रबारदेखि देशभर एकैसाथ सुरुहुँदै छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए।
उनले सबै विद्यार्थीहरूलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरे। उनकाअनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरू सहभागी हुने भएका छन्। त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी हुने भएका छन् । देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन्।
परीक्षाका लागि बोर्डले देशभर एक हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा एक गरि कूल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेको उनले जानकारी दिए। सबैभन्दा बढी काठमाडौंमा एक सय ४४ र मनाङ/मुस्ताङमा एक/एक वटा परीक्षा केन्द्र निर्धारण गरेको छ। पहिलो पटक बोर्डले यसवर्ष स्वचालित (स्यान्डम) प्रक्रियाबाट काठमाडौँका परीक्षा केन्द्र निर्धारण गरेको हो।
परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार एक सय ७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन हुने भएका छन्।
परीक्षामा लागि आवश्यक पर्ने उत्तरपुस्तिकालगायतका सामग्री परीक्षा केन्द्रहरुमा पुर्याउने कार्य सम्पन्न गरिसकेको छ भने यसवर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाइने भएको छ। इमेलबाट प्रश्नपत्र पठाउँदा ‘टाइम पासवर्ड’ को व्यवस्था गरेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology