देवदह । रूपन्देहीको देवदह नगरपालिकामा 'र्यापिड रेस्पोन्स टिम' बन्ने भएको छ । बुधबार बसेको नगर विपद व्यवस्थापन समितिको बैठकले आगलागी, बाढी, डुबान लगायतमा उद्धार गर्न 'र्यापिड रेस्पोन्स टिम' गठन गर्ने निर्णय गरेको हो । जसले नगरवासीलाई ४८ घण्टाभित्रै राहतसमेत उपलब्ध गराउने जनाईएको छ ।
कार्यवाहक नगर प्रमुख विद्यालक्ष्मी गुरुङको अध्यक्षतामा बसेको नगर विपत व्यवस्थापन तथा न्यूनीकरण सम्बन्धि छलफल तथा बैठकमा आगलागीबाट क्षती पुगेका घरपरिवारहरुलाई तत्काल राहत उपलब्ध गराउने र त्यसको लागि विभिन्न संघ, संस्था, व्यवसायी र व्यक्तिहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ । संकलित राहत सामग्रीलाई एकद्वार प्रणालीबाट विभेदरहित तरिकाले वितरण गर्ने व्यवस्था मिलाउने निर्णय समेत नगरपालिकाले गरेको छ ।
बैठकमा वनमा भएको वन डढेलो न्यूनीकरण, बाढी-पहिरो न्यूनीकरण, अन्नबाली नष्ट भएकालाई अनुदान, वायुयन्त्र सेवा विस्तार सम्बन्धि छलफल भएको जनाइएको छ ।
नगरपालिका विपद व्यवस्थापन समितिका सदस्य, देवदह नगरपालिकाभित्र रहेका सामुदायिक वनका प्रतिनिधि, संचारकर्मी र प्रहरी लगायतको उपस्थिति रहेको बैठकमा देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, नगर प्रवक्ता गणेश डुम्रे लगायतले बोलेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology