Logo

२०८३, आश्विन ११गते


images
images

आजदेखि बिस्काः जात्रा सुरु

आजदेखि बिस्काः जात्रा सुरु

images
  • सेतोमसी सहकर्मी
  • आजदेखि बिस्काः जात्रा सुरु
    images
    images

    भक्तपुर ।  आठ रात नौ दिनसम्म भव्य रुपमा मनाइने यहाँको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ । जात्राको पहिलो दिन आज तौमढीस्थित भैरवको रथमा पूजा गर्ने स्थानीयको बिहानदेखि भीड लागेको छ ।

    images
    images
    images

    आज बिहानदेखि सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुल्ला गरेर जात्राको शुभारम्भ गरिएको गुठी संस्थान कार्यालयका प्रमुख खिमा वलीले जानकारी दिए । उनले भने, “आज बिहानदेखि नै नित्य पूजा सुरु गरेपछि सर्वसाधारणको पूजा सुरु भइसकेको छ, पहिला आज गुठी संस्थानका प्रमुख र सिकर्मी नाइकेबाट सरकारी पूजा गरिन्छ, त्यसपछि अन्य समुदायको पूजा सकेर ३ बजेदेखि भैरवको रथ तान्न सुरु गरिनेछ, यसवर्ष छिट्टै रथ तानेर गहिटी पुर्याउने लक्ष्य राखेका छौँ ।”

    images
    images
    images

    तान्त्रिक विधिपूर्वक गुठी कार्यालयले ल्याएको सरकारी पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल विराजमान गराई हनुमान ढोकाबाट राजाको प्रतीकस्वरुप ल्याइएको खड्ग, तरवार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा सुरु भएको थियो । 

    images
    images
    images

    विगतका वर्षहरुमा अपराह्न ५ बजेपछि रथ तान्न सुरु गरी राति अबेरसम्म टौमढीबाट रथलाई माथि र तल तानेर गःहिटी पुर्याउने प्रचलन भए पनि यस वर्ष भने भैरवनाथको रथ अपराह्न ५ बजेसम्म गःहिटीमा पुर्‍य ाई पहिलो दिनको जात्रा सम्पन्न गर्ने तयारी गरिएको उनले बताए । 

    विगतका वर्षहरुमा रथमा जथाभावी मानिस बस्ने गरे पनि यस वर्ष भने रथमा जुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका आवश्यक व्यक्तिबाहेक अन्य व्यक्ति चढ्न नदिने उनले बताए ।

    आजको जात्रा सम्पन्न भएपछि चैत ३० गते ल्यासिंखेलमा गुठी पूजासहित सबै प्रक्रिया पूरा गरी अपराह्न ५ बजे लिङ्गो उठाइने जात्रा हुनेछ । वैशाख १ गते अपराह्न ५ बजेभित्र लिङ्गो ढाल्ने र वैशाख ५ गते पनि अपराह्न ५ बजेसम्म रथ तानिसकेर जात्रा सम्पन्न गर्ने गरी तयारी गरिएको उनले बताए । 

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बिस्केट जात्रामा हूलदङ्गा हुन नदिन र शान्तिपूर्ण रुपमा जात्रा सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा गरिएको बताए । उनले भने, “जात्राको रथ तान्न ३ बजे सुरु गरेर ६ बजेसम्म सम्पन्न गर्ने तयारी गरेका छौँ, जात्रामा सिसी क्यामराबाट प्रहरीले अनुगमन गरिरहेको हुन्छ, जात्रामा खटिएका सादा पोसाकमा सुरक्षाकर्मीले पनि मोबाइलबाट फोटो र भिडियो खिचेर अनुगमन गरिरहेको हुन्छ, स्थानीयको जात्रा भएकाले जात्रामा अवरोध नगर्ने गरी सुरक्षाकर्मी पछाडि नै बस्छन्, हूलदङ्गा भयो भने र आवश्यकता हेरेर मात्रै सुरक्षाकर्मी अगाडि जाने व्यवस्था गरेका छौँ ।”

    उनले नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेनासहितको सुरक्षा टोली आवश्यकताअनुसार खटिने गरी सुरक्षा व्यवस्था तयारी अवस्थामा राखेको उनले बताए । जात्रा भड्काउन खोज्ने, ढुङ्गा हान्ने र हूलदङ्गा गर्न खोज्नेलाई पक्राउ गरी कडा कारबाही गरिने उनले बताए । जात्राका लागि काठमाडौँबाट समेत थप प्रहरीको मद्दत ल्याइएको छ । रासस

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बिस्काः जात्रा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।