Logo

२०८३, श्रावण २७गते


images
images

खुम्बु क्षेत्रका भरियाका दु:ख

खुम्बु क्षेत्रका भरियाका दु:ख

images
  • सेतोमसी सहकर्मी
  • खुम्बु क्षेत्रका भरियाका दु:ख
    images
    images

    काठमाडौँ ।  टाउकोमा नाम्लोको सहाराले पिठ्यूँमा गह्रौं ‘ब्याकप्याक’ बोकेका भरियाहरू सगरमाथा आधारशिविरतर्फको उकालो लाग्दै थिए। हिमालको चिसो हावा चलिरहे पनि चैतको चर्कँदो घामले उनीहरूको शरीर पसिनाले निथ्रुक्क भिजेको थियो। त्यसमाथि उचाइ बढ्दै जाँदा एकोहोरो हिँड्न सकिने अवस्था पनि थिएन।

    images
    images
    images

    त्यसैले पर्यटकहरू लठ्ठीको सहारामा आधारशिविरको दूरी छोट्याउँदै गर्दा भरियाहरू नवराज विक, मिङ्मार तामाङ, जीवन कुलुङ, दारिन्जी शेर्पा र नवराज बस्नेत भने एकैछिन थकाइ मेट्न भारी बिसाए।

    images
    images
    images

    विभिन्न देशबाट आएका पर्यटकहरू भरियाको सहारामा सगरमाथा आधारशिविर पुग्ने रहर पूरा गर्दैगर्दा उनीहरू भने घर खर्च जोहो गर्न पर्यटकसँगै उकालो लाग्दै थिए।

    images
    images
    images

    विश्वका साहसिक पर्यटन रुचाउने अधिकांश पर्यटकका लागि सगरमाथा क्षेत्र ‘बकेटलिस्ट’को गन्तव्य भए पनि खुम्बु क्षेत्रमा उकालो लाग्दै गरेका यी भरियाका लागि भने यो आम्दानीको प्रमुख स्रोत हो।

    हजारौं डलर खर्चेर सगरमाथा क्षेत्र घुम्न आउने पर्यटकका साथरी भरियाका लागि भने यसै क्षेत्रमा भारी बोकेर दिनमा रु दुई हजार कमाउन पनि मुस्किल हुन्छ।

    ‘आधार शिविरको ठाडो बाटो रित्तै हिँड्न त गाह्रो छ। त्यसमाथि ४० केजीको झोला बोकेर पर्यटकसँगै आधारशिविरसम्मको उकालो बाटो छिचोल्नु उत्तिकै कठिन पनि छ,’ भरिया नवराज विकले भने, ‘जति उकालो लाग्दै गयो ‘अल्टिच्युड’ पनि बढ्दै जान्छ। कठिनाइ थपिँदै जान्छ। तर काम गरेअनुसारको पारिश्रमिक पाए त ती सबै दुःख बिर्सिन्थ्यो होला। तर सधैंभरि त्यस्तो हुँदैन। तपाईंहरूले सोंचेजस्तो राम्रो कमाइ पनि हुँदैन।’

    उमेरले ४० पुग्न लागेका विक यसैगरी खुम्बुमा पर्यटकको झोला बोक्न थालेको डेढ दशकभन्दा बढी भयो। सोलुखुम्बु महाकुलुङ गाउँपालिका- १ बुङका उनी पर्यटकको भारी बोकेरै घरखर्च चलाउँदै आएका छन्।

    तर यही भारी बोक्ने काम पनि वर्षभरि भने पाइँदैन। सगरमाथा क्षेत्र घुम्नका लागि दुईवटा याम राम्रो मानिन्छ। पहिलो असोजदेखि मंसिर र दोस्रो फागुनदेखि वैशाख। यी दुवै यामको सुरुआतमा लुक्लामा पर्यटक बाक्लिन थालेपछि विकजस्ता भरियाहरू काम खोज्दै खुम्बु क्षेत्र प्रवेश गर्छन्।

    अनि लुक्लाबाट पर्यटकको झोला बोकेर गन्तव्यसम्म पुग्न सहयोग गर्छन्। उनीहरू सो ‘सिजन’भरी यसैगरी काम गर्छन् र पर्यटक पातलिन थालेपछि मात्रै घर फर्कन्छन्।

    ‘श्रीमती र बालबच्चासहितको परिवार चलाउने खर्च यहीं कमाउने हो। यहाँ काम नहुँदा घरमा कृषिलगायतको काम गर्छु। तर ज्यान जोखिममा राखेर सगरमाथाको ‘माइनस’ तापक्रममा काम गर्दा पनि खर्च धान्नै गाह्रो हुन्छ,’ विकले पीडा सुनाए।

    विकका अनुसार दुई हजार आठ सय ६० मिटर उचाइको लुक्लादेखि पाँच हजार तीन सय ६४ मिटरको आधारशिविर पुग्न छदेखि सात दिनलाग्छ। त्यहाँबाट फर्कँदा दुईदेखि तीन दिन लाग्छ। यसरी उनीहरूले दैनिक रु एक हजार पाँच सयदेखि रु दुई हजारका दरले औसतमा एक टोली पर्यटकलाई सेवा दिँदा रु १८ हजारदेखि रु २० हजारसम्म कमाउँछन्। कमाएको पैसा खाना र बस्नमा पनि खर्च हुन्छ। खर्च कटाउँदा हातमा बच्ने पैसाले पसिनाको मोल दिँदैन।

    विकका अनुसार सुम्बु क्षेत्र पर्यटकका लागि जति महंगाे छ, भरियाका लागि त्योभन्दा कम छैन। ‘भरियासँग कम पारिश्रमिकको मात्रै पीडा छैन। महंगाे खाना र बासको राम्रो प्रबन्ध नहुनु पनि हाम्रा लागि पीडा नै हो,’ उनले भने, ‘पर्यटक जसरी महंगा होटलमा कहाँ बस्न पाउनु? हामी त भट्टी खोज्दै हिँड्नुपर्छ।’

    विकको जस्तै पीडा उनीसँगै थकाइ मार्दै गरेका मिङ्मारले पनि सुनाए। ‘ब्याकप्याकसँगै खानाका लागि घरमा भुटेको मकै, रोटी र आलु बोक्नुपर्छ। पारिश्रमिकले होटलको खाना खाने हो भने त कमाएको पैसा घर पुग्दैन,’ उनले भने, ‘भीड बढ्यो भने त सुत्नको जोहो गर्न पनि गाह्रो हुन्छ।’

    उनका अनुसार खुम्बुको माथिल्लो क्षेत्रमा भरियाले एक छाक खानाको रु पाँच सयदेखि सात सयसम्म तिर्नुपर्छ। ‘दुःखअनुसारको पारिश्रमिक त कसैले पाउँदैनन्। त्यही कहिलेकाहीं पाइने टिप्सले दुःख भुलाइदिन्छ,’ हल्का थकाइ मेटिएको अनुहारमा हल्का मुस्कान छर्दै उनले भने।

    खुम्बुका लागि भरियाहरू सस्ता ढुवानीकर्ता हुन्। ‘सवारी गुड्ने सडकको सुविधा छैन। हेलिकोप्टर, याक र जोक्पेबाट ढुवानी गर्दा महंगाे हुन्छ,’ गोरक्सेपमा भेटिएका भरिया जीवन कुलुङले भने, ‘ढुवानीमै धेरै पैसा खर्च गर्ने भए भरियाको के काम?’
    खुम्बु क्षेत्रमा पर्यटकको भारी बोक्न ओखलढुंगा, खोटाङलगायतका जिल्लाबाट पनि यहाँसम्म भरिया आउने गरेको उनले सुनाए।

    भरियालाई छैन सम्मान

    सगरमाथा क्षेत्रको पर्यटनमा भरियाको ठूलो भूमिका छ। पर्यटकहरु खुम्बु क्षेत्रमा रहँदासम्म भरियाहरु हरपल साथमै रहन्छन्। भरियाको अभावमा लुक्लादेखि गह्रौं झोला बोकेर हिमाल चढ्नु जो कोही पर्यटकले सक्ने कुरा पनि हुँदैन। उनीहरू भरियाकै कारण पर्यटकले सगरमाथा क्षेत्र छिचोल्न पाउँछन्।

    कैयन अवस्थामा त यिनै भरियाकै कारण कैयन पर्यटकको ज्यान पनि जोगिएको छ। खुम्बुको हावापानीसँग परिचित भरियाकै कारण मृत्युको मुखबाट बाँचेर धेरै पर्यटक घर फर्केका पनि छन् ।

    तर भरियाहरुले सम्मान भने पाउन नसकेको भरिया दारिञ्जी शेर्पाको गुनासो छ। ‘हामीहरू दिनभर भारी बोकेर उकालो चढ्दछौं। रात परेपछि बासको चिन्ताले सताउँछ,’ उनले भने, ‘होटलमा बास बस्न मुस्किल हुन्छ। भारी बिसाउने वित्तिकै बास खोज्दै भट्टी चहार्नुपर्छ।’

    कतिपय अवस्थामा त बास पाउन निकै सास्ती भोग्नु परेको शेर्पाको अनुभव छ।

    पर्यटकका लागि होटलमा सबै सुविधा भए पनि भरियाका लागि उचित व्यवस्था नभएका भरिया नवराज बस्नेतको तर्क छ। ‘होटल व्यवसायीहरुले हामी गर्ने व्यवहार चित्त दुख्दो हुन्छ। त्यो हामीले भोग्दै आएका छौं। हामीलाई त लेक लाग्दा वा कुनै गाह्रो अवस्था हुँदा सहज उद्धार पनि नहुने अवस्था छ,’ उनले गुनासो गरे।

    ‘पोर्टर हाउस’ बन्दै

    खुम्बु पासाङल्हामु गाउँपालिकाले हाल भरियाहरूसँग प्रतिव्यक्ति रु २५ का दरले शुल्क लिँदै आएको छ। तर भरियाहरूका लागि भने उचित बन्दोबस्न हुन सकेको छैन। गाउँपालिका अध्यक्ष मिङ्मा छिरि शेर्पाले भरियाहरूका लागि उचित बन्दोबस्त नभएको स्वीकार गर्दै पालिकाले हालै ‘पोर्टर हाउस’ अर्थात् भरिया घरको अवधारणा अघि सारेको बताए।

    ‘भरियाहरुका लागि सगरमाथा क्षेत्रका विभिन्न स्थानमा पोर्टर हाउस निर्माणको प्रक्रिया अघि बढिसकेको छ। जहाँ उनीहरूका लागि खान र बस्नको राम्रो प्रबन्ध हुनेछ,’ उनले भने।

    पोर्टर हाउसमा भरियाले निकै कम शुल्कमा खाना र बस्न पाउने उनको भनाइ छ। ‘गाउँपालिकाले पोर्टर हाउस निर्माण सुरु गरिसकेको छ। केही महिनाभित्रै सञ्चालन गर्ने गरी काम भइरहेको छ,’ उनले भने।

    खुम्बुको पर्यटन बचाउन भरियाहरुले गरेको योगदानलाई कदर गर्दै पोर्टर हाउस निर्माण सुरु गरिएको उनको भनाइ छ।

    हाल नाम्चे, लुक्लासहितका क्षेत्रमा भट्टी पसलहरु प्रशस्त भएकाले समस्या नभए पनि माथिल्लो क्षेत्र थामे, दिङबोचे, दिबुचे, थुक्ला, गोरक्सेपलगायतका स्थानमा भने भरियाले समस्या भोग्नु परेको अध्यक्ष शेर्पाले बताए। भरिया घर सञ्चालनमा आएपछि भरियाको उक्त समस्या दीगो रूपमा समाधान हुने उनको विश्वास छ। रासस

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # खुम्बु क्षेत्र
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।