देवदह । रुपन्देहीको देवदहमा दोस्रो गौतम बुद्ध वादरियो अन्तराष्ट्रिय खुल्ला कराँते प्रतियोगिता सुरु भएको छ। देवदह कराँते डो एकेडेमीको आयोजनामा सुरू भएको प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, पाकिस्तान र बाङ्लादेशका कराते खेलाडीको सहभागिता रहेको छ।
कार्यक्रमको उद्घाटन गर्दै देवदह नगरपालिकाको नगर प्रमुख ध्रुबप्रसाद खरेलले एतिहासिक पर्यटकीय नगर देवदहलाई खेल र पर्यटनबाट समृद्धिको दिशामा लैजाने गरि नगरपालिकाले काम गरिरहेको बताए । खेललाई मनोरञ्जन र स्वास्थ्यसंगै व्यवसायीक ढंगले समेत खेलकुदका गतिविधिहरु संचालन गर्नुपर्नेमा नगर प्रमुख खरेलको जोड दिंदै उनले कराते खेल आत्मरक्षाका निम्ति पनि महत्त्वपूर्ण रहेको बताए ।
सोही अवसरमा बोल्दै नेकपा माओवादी केन्द्र रूपन्देही संयोजक निर्मल जिसी, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रिय अध्यक्ष ध्रुव आचार्य, नेपाल वादरियो कराँते डो संघका केन्द्रिय अध्यक्ष, प्रमुख प्रशिक्षक तथा नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसी लगायतले अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताले यस क्षेत्रको खेलकुद विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
प्रतियोगितामा करिब ३०० जना खेलाडीहरु प्रतिस्पर्धा गर्ने एकेडेमीका अध्यक्ष तथा प्रदेश उपाध्यक्ष शोभाखर पन्थले जानकारी दिए । प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ७ गरि १४ स्वर्णको लागि प्रतिस्पर्धा हुनेछ ।
दुई दिनसम्म खेल संचालन हुने र २७ गते सबै खेलाडीलाई देवदहका पर्यटकीय क्षेत्रको भ्रमण गराउने व्यवस्था मिलाईएको आयोजकले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology