राजेश पराजुली, पोखरा । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’ द्वारा सम्मानित भएकी छन् । बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा आयोजित एक समारोहबीच उनलाई बिहीबार लण्डनका मेयर सादिक खानले अवार्ड प्रदान गरेका छन् ।
पोलिटिकल एण्ड पब्लिक लाइफ अवार्डअन्तर्गत सन् २०२४ को मेयर अवार्ड प्रमुख दाहाललाई प्रदान गरिएको हो । मरिससका पहिलो महिला राष्ट्रपति अमिना गुरिब फकिमलगायतका उच्च व्यक्तित्व सहभागी विशेष समारोहबीच अवार्ड वितरण गरिएको महानगरले जनाएको छ । मेयर खानलाई लोकल गर्भमेन्ट अवार्ड, राष्ट्रपति फकिमलाई इन्टरनेसनल वेमन अफ द इयर अवार्ड प्रदान गरिएको थियो ।
पोलिटिकल एण्ड पब्लिक लाइफ अवार्डअन्तर्गत सन् २०२४ मा उक्त अवार्ड बेलायतलगायत विभिन्न देशका फरकफरक क्षेत्रमा ख्यातिप्राप्त २४ जनालाई प्रदान गरिएको हो ।
बेलायतका उपप्रधानमन्त्री ओलिभर डाउडेन, प्रमुख विपक्षी दल लेबर पार्टीकी उपनेता एन्जेला रेनर, सीप तथा शिक्षासम्बन्धी राज्यमन्त्री रोर्बट हालफन, लेवर पार्टीका अन्तर्राष्ट्रिय व्यापार छायाँ मन्त्री ग्यारेथ थोमस, भारतका पूर्वमन्त्री सुरेश प्रभु, मौरिससकी पूर्वराष्ट्रपति फकिम, बेलायत वेल्स राज्यकी सांसद नताशा अस्गरले पनि अवार्ड पाएको प्रमुख दाहालले जानकारी दिइन् ।
अवार्ड प्राप्त गरेपछि प्रमुख दाहालले उच्च राजनीतिक नेतृत्वबीच सम्मानित हुन पाउँदा आफू गौरवान्वित भएको बताइन् । प्रमुख दाहालले बेलायतका उच्च अधिकारीहरुलाई भरतपुर भ्रमण वर्ष २०२४ को निम्तो दिएकी छन् ।
विकास निर्माणमा भरतपुरले प्राप्त गरेको छलागंकै कारण उनी यो स्थानसम्म पुगेकी हुन् । कार्यक्षेत्रमा देखिएको सफलताले नै दाहालले विश्वचर्चित अर्वाड पाएकी हुन् । विश्वभरका नगर प्रमुखमध्ये रेनु दाहालले अन्तर्राष्ट्रिय मेयर पुरस्कार प्राप्त गरेकी हुन् ।
यसअघि बेलायतका पूर्वप्रधानमन्त्री डेभिड क्यामरुन, लन्डनका मेयर सादिक खान, थेरसा मे जस्ता विश्व चर्चित नेताहरुले सो अवार्ड पाएका थिए ।
यस्तो प्रतिष्ठित अवार्ड प्राप्त गर्ने दाहाल पहिलो नेपाली बनेकी छन् । १६ वर्षदेखि यो अवार्ड वितरण थालिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology