देवदह । देवदहमा क्रियाशील सामाजिक संस्था उज्यालो लालटिन प्रतिष्ठानले क्यान्सर रोगको सामाना गरिरहेका युवा कवि नवराज न्यौपानेको सहयोगार्थ देवदह महोत्सवमा पुस्तक विक्री अभियान संचालन गरेको छ ।
काभ्रे निवासी कवि नवराज न्यौपाने लामो समयदेखि क्यान्सर रोगसंग लडिरहेको र क्यान्सरसँग लड़िरहदा अस्पतालको बेडबाटै उनले लेखेको पुस्तक सपनाका लहरहरू-२ प्रकाशित भएको थाहा पाएपछि कवि न्यौपानेलाई सानो नै भएपनि सहयोग गर्नुपर्छ भन्ने उद्धेश्यले पुस्तक विक्री अभियान संचालन गरिएको प्रतिष्ठानका अध्यक्ष सागर भट्टराईले बताए ।
शुक्रबारदेखि सुरू गरिएको अभियानमा ७० वटा पुस्तक विक्री भएको र १२० वटा पुस्तक विक्री गरि सबै रकम कवि न्यौपानेको उपचारको लागि पठाईने अध्यक्ष भट्टराईले जानकारी दिए ।
प्रतिष्ठानका संस्थापक अमृत लम्साल (स्वतन्त्र नेपाल)ले जीवनको कठिनभन्दा कठिन समयमा पनि एउटा कविले कसरी आफुलाई सम्हाल्छ र सपनाहरू बुनिरहन्छ भन्ने उदाहरण कवि न्यौपाने रहेको र उनलाई सहयोग गर्नु हामी सबैको दायित्व हुने बताए ।
देवदह महोत्सवको प्रांगणमा 'क्यान्सरको कालो विरूद्ध उज्यालो' लेखिएको ब्यानरमा प्रतिष्ठानले पुस्तक विक्री गरिरहेको छ ।
पुस्तकको मूल्य ५०० रहेको र ईसेवाबाट भुक्तानी गरेको अवस्थामा पनि प्रतिष्ठानका सदस्यले पुस्तक हातमा पुर्याईदिने अभियानले जनाएको छ ।
२०७३ सालमा स्थापना भएको उज्यालो लालटिन प्रतिष्ठानले देवदहमा एम्बुलेन्स संचालन गर्नुका साथै विभिन्न सामाजिक कार्यमा आफुलाई सक्रिय गराउदै आएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology