Logo

२०८३, श्रावण २७गते


images
images

‘पुर्पुरो’ गर्ने छन्त्याल समुदायको परम्परा

‘पुर्पुरो’ गर्ने छन्त्याल समुदायको परम्परा

images
  • ‘पुर्पुरो’ गर्ने छन्त्याल समुदायको परम्परा
    images
    images

    म्याग्दी । उमेरले चार वर्ष पार गरेका धवलागिरि गाउँपालिका ५ मलम्पारका लिएन घरब्जा छन्त्याल आफ्नो परिवारका आफन्तसँग पोखरामा बसोबास गर्छन्। लिएनका बुबा खिमबहादुर र आमा दमायाँ रोजगारको सिलसिलामा अस्ट्रेलियामा छन्।

    images
    images
    images

    पोखरामा घरसमेत बनाएर बसोबास गर्दै आएका छन्त्याल परिवारले खिमबहादुरका जेठा छोरा लिएनको ‘पुर्पुरो’ भने गृहगाउँ मलम्पारमै गरे। लामो समयदेखि पोखरामा बसोबास गर्दै आए पनि आफ्नो परिवारमा जन्मिएका जेठा छोराको पुत्र बढाउ अर्थात् पुर्पुरो भने उनीहरुले जन्मस्थान गाउँमा गरेका हुन्।

    images
    images
    images

    छन्त्याल समुदायमा घरमा जेठा छोरा जन्मिएको खुसियालीमा हर्ष बढाउस्वरुप पुर्पुरो गर्ने पुख्र्यौली परम्परा र संस्कृति रहेको छ। यस दिनमा आफ्ना आफन्त र मान्यजनलाई निम्ता दिएर घरमा पुख्र्यौली नाच देखाउने गरिन्छ भने पुर्पुरो गर्ने परिवार र बालकलाई टीका लगाएर आशिष दिने चलन छ।

    images
    images
    images

    लामो समयदेखि पोखरामा बसोबास गर्दै आए पनि आफ्नो पुख्र्यौली गाउँठाउँमै पुगेर जेठो छोरा लिएनको पुर्पुरो गरेको उनका ठूलोबुबा कृष्ण छन्त्यालले बताए। ‘हामीले पोखरामै पनि बाबुको पुर्पुरो गर्न सक्थ्यौँ, तर हामी यही गाउँमा जन्मियौँ, आज जहाँ भए पनि हामीले आफ्नो संस्कारलाई गाउँमै आएर पूरा गर्नुपर्छ भन्ने मान्यताले जन्मथलोमा आएर गरेका हौँ’, उनले भने। पुर्पुरोका अवसरमा पुख्र्यौली समूहले नाचगान गर्ने र स्थानीय आमा समूह र युवा क्लबले स्वागत र सम्मान गर्ने चलन रहेको छ।

    पुर्पुरोका समयमा पुख्र्यौली समूहमार्फत स्थानीय सामाजिक गतिविधिमा उपयोग गर्ने गरी घरपरिवारले आर्थिक सहयोग प्रदान गर्ने भएकाले गाउँकै सामाजिक सेवामा सहयोग पुगोस् भनेर आफूहरु गाउँ फर्किएर संस्कारजन्य कार्य गर्ने गरेको छन्त्याल परिवारको भनाइ छ।

    लिएनको पुर्पुरोमा घरपरिवार र अन्य आफन्तबाट दुई लाख चार हजार पाँच सय सहयोग जुटेको धवलागिरि गाउँपालिका ५ का वडा सदस्य र स्थानीय महेन्द्र आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त छन्त्यालले जानकारी दिए।

    उनले उक्त सहयोग रकमलाई विद्यालयको निजी स्रोतका शिक्षकको तलब सुविधामा खर्च हुने जानकारी दिए। विकट बस्ती भएकाले अवसर, रोजगार र सुविधाका लागि हरेक वर्ष गाउँ छाडेर अन्यत्र जानेक्रम बढेपछि संस्कारजन्य कार्यमा भने पुख्र्यौली थलोमै फर्कने परम्परा बनेको छ। मलम्पारका अधिकांश घरबाट वैदेशिक रोजगारमा गएका छन् भने धेरैले गाउँदेखि सहरतर्फ बसाइँ सार्न थालेका छन्।

    दुर्गम गाउँका रुपमा चिनिएको मलम्पारबाट रोजगार, व्यापार व्यवसाय र अन्य कारणले गाउँ छाडेका आफ्नो परिवारको पुर्पुरो, छेवर, विवाहलगायत संस्कार र परम्पराजन्य कार्यका लागि भने गाउँ फर्कने गरेको वडा सदस्य छन्त्यालले बताए। यस गाउँबाट बेनी, पोखरा, काठमाडौँ, बुटवललगायतका सहरी क्षेत्रमा बसाइँसराइ गरेका संस्कारजन्य कार्यका लागि गाउँ फर्कने भएकाले गाउँको विद्यालय सञ्चालन र सामाजिक कार्यमा राहत हुने गरेको छ।

    यहाँका हरेक व्यक्तिले आफ्नो मनोकांक्षाका लागि मालिकालगायत शक्तिपिठको भाकल गर्ने भएकाले पनि विश्वका जुनसुकै ठाउँमा पुगेका पनि गाउँ सम्झिएर फर्कने गरेको स्थानीय विष्णुमाया घरब्जा बताउँछन्। पुर्पुरोको दिनमा पुख्र्यौली समूहले गीत र नाचबाटै आशिष दिने भएकाले यस दिन देखाउने पुख्र्यौलीलाई पुर्पुरो गर्ने भन्ने चलनसमेत रहेको छ। दिनभर सारेठी भाकामा नाच देखाउने पुख्र्यौली समूहले घरपरिवारको सम्मान र दानपछि परिवारलाई एकै ठाउँमा राखेर गीतको भाका, नाचको रौनक र फूलपाती दिएर आशिष दिने चलन छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।