जिल्लाको तापक्रम माइनसमा झरेसँगै चिसो बढेपछि चिसोबाट बच्न सतर्कता अपनाउन स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले सबैमा अनुरोध गरेका छन् । उनले चिसोले वृद्धवृद्धा र बालबालीकालाई बढी असर गर्ने भएकाले बाक्लो कपडा लगाएर न्यानो भएर बस्न आग्रह गरे ।
चिसो ह्वात्तै बढेपछि स्थानीयवासी तथा कर्मचारीले दैनिक उपयोगका लागि दाउरा सङ्कलन गर्न थालेका छन् । जाडो मौसममा एक भारी दाउराको मूल्य रु१ हजारसम्म पर्ने गरेको छ ।
आज चिसो बढी भएपछि सदरमुकाम सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयमा कर्मचारीलाई काम गर्न समस्या भएको छ । चिसोमा सेवाग्राही कम आउने भएकाले सेवा लिन आएका सेवाग्राहीलाई विद्युत्को प्रयोग गरी हिटर तापेर सेवा दिइएको शिखर इन्स्योरेन्स प्रालि हुम्ला शाखाका उपेश भण्डारीले बताए ।
चिसोले सेवा प्रवाहमा समस्या बनाएको सिमकोट गाउँपालिका–२ ठेहेका वडाध्यक्ष देवजङ बोहराले बताए । यसअघि दिउँसो घाम लागेर चिसो कम मानिए पनि आज बिहानैदेखि घाम नलाग्दा अत्यधिक चिसो भएको उनको भनाइ थियो ।
बादल लागेसँगै अन्तर जिल्ला जोड्ने एक मात्र हवाई यातायातले समेत नेपालगञ्ज, सुर्खेतबाट उडान भर्न नसकेको विमानस्थल प्रमुख सिंहले जानकारी दिए ।


















.gif)