भोजपुर । धेरै युवामा विदेशप्रतिको मोह रहे पनि भोजपुर टेम्केमैयुङ गाउँपालिका–६ कोटका केही युवा पुर्ख्यौली कालिगड पेसामा रमाउँदै आएका छन् ।
पेसाको संरक्षणसँगै यसलाई पुस्तान्तरण गर्ने लक्ष्यले यो पेसालाई निरन्तरता दिएको स्थानीय महेन्द्रर साइलीले बताए । पराम्परागत भोजपुरे खुकुरी बनाउने पेसा सङ्कटमा पर्ने अवस्था आएकाले यसको संरक्षणमा जुटेको उनले बताए । आफ्नो उद्योगमा उत्पादन भएका खुकुरी भोजपुर सदरमुकामसँगै स्थानीय बजारमा बिक्री गर्दै आएको उनको भनाइ छ । आफूले भोजपुरे, सिरुपाते, चित्लाङ्गले, कोथीमोडालगायतका खुकुरी बनाउने उनको भनाइ छ ।
स्वदेशमा नै कालिगड पेसा गरेर परिवारको घर खर्च धान्दै आएको उनले बताए । “विदेशप्रतिको मोह त्यागेर पुर्ख्यौली कालिगड पेसा गर्दै आएको छु”, उनले भने, “हामीजस्ता नयाँ पुस्ताले संरक्षणमा ध्यान नदिने हो भने यो पेसा सङ्कटमा पर्ने अवस्था छ । यसको संरक्षण गर्दै नयाँ पुस्तासम्म सीप हस्तान्तरण गर्ने मेरो लक्ष्य छ ।” विभिन्न प्रकारका खुकुरी बनाउँदै आएको भए पनि मोफसलमा व्यवसाय सञ्चालन गरेकाले बजारीकरणमा केही समस्या रहेको उनको भनाइ छ ।
कतिपय खण्डमा मेहनतअनुसारको आम्दानी लिन समस्या हुने गरेको उबले बताए । “पछिल्लो समयमा यो पेसाप्रति युवाको आर्कषण घट्दो छ”, उबले भने, “यो काम गर्न अलि बढी नै मेहनत पर्छ । दुर्गम ठाउँमा व्यवसाय सञ्चालन गरिरहेकाले बजारसम्म पुर्याउन अलि समस्या हुन्छ ।” व्यवसाय सञ्चालनमा कच्चा पदार्थ र बजारको समस्या रहेको उनको भनाइ छ । सामुदायिक वनबाट सहजरूपमा कोइला ल्याउन पाउने अवस्था नहुँदा समस्या भएको कालिगडहरूको भनाइ छ । उत्पादन गरेको खुकुरीले पनि मेहनतअनुसार मूल्य पाउन नसक्दा मानिसको यस पेसाप्रति रुचि घट्दै गएको उनले बताए ।
राज्यका तर्फबाट यसको विकास तथा संरक्षणमा ध्यान दिनुपर्ने उबको भनाइ छ । “समाजमा यो पेसालाई अझै पनि अपहेलनाका रूपमा लिने चलन छ”, उनले भने, “मेहनतअनुसारको प्रतिफल लिन अलि समस्या नै छ । कच्चा पदार्थको अभाव छ । फलामको मूल्य बढ्दो छ । तर उत्पादित सामग्रीलाई सोचेअनुसारको मूल्यमा बिक्री गर्ने बजार छैन । बिचौलियालाई बेच्नुपर्ने अवस्था छ । राज्यले उत्पादित वस्तुको सही मूल्य पाउने वातावरण निर्माणसँगै आवश्यक सहयोग गरे राम्रो हुने थियो ।” दिनानुदिन कालिगड पेसा छाड्नेको सङ्ख्या बढ्न थालेपछि प्रोत्साहनका कार्यक्रमलाई अघि बढाएको टेम्केमैयुङ–६ का वडाध्यक्ष सूर्यप्रसाद नेपालले जानकारी दिए ।
“पछिल्लो समय वडामा भएका कालिगड पलायन हुँदै गएको अवस्था छ”, उनले भने, “अहिले हामी यो पेसाको संरक्षणमा जुटेका छौँ । गत वर्ष यहाँका कालिगडहरूलाई रु एक लाखबराबरको सहयोग गरेका छौँ ।” भोजपुरे खुकुरीले नाम कमाएको जिल्लामा कालिगड पेसा सङ्कटमा पर्दै गएपछि संरक्षणमा जुटेको उनको भनाइ छ । पेसामा लागेकालाई लक्षित गरेर प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्दै आएको वडा कार्यालयको भनाइ छ ।
“विगतमा हाम्रो ठाउँमा कालिगड धेरैको सङ्ख्यामा थिए”, उनले भने, “अहिले व्यावसायिकरूपमा यो काम गर्ने छ–सात घरमात्र छन् । संरक्षण गरिएन भने यो पेसा सङ्कटमा पर्ने अवस्था छ । त्यसैले हामीले केही सहयोग गर्दै आएका छौँ ।”
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology