राजेश पराजुली, पोखरा । पोखरा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रविधिमैत्री बन्दै अनलाइनबाट टिकट काट्न सक्ने व्यवस्था मिलाएको छ । यातायात क्षेत्रमा प्रविधिको प्रयोग गरेर यात्रुहरुलाई सहज र स्तरीय सेवा दिनका लागि पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले पूर्ण अटोमेशनमा गएपछि अनलाइनबाट नै टिकट काट्न सकिने व्यवस्था मिलाइएको आज आयोजित पत्रकार सम्मलेनमार्फत जानकारी दिएको हो ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र बहादुर केसीले कम्पनी पूर्ण रुपमा अटोमेशनमा गएकाले यात्रुहरुले अब अनलाइनबाट टिकट काट्न सक्ने बताए ।
‘पछिल्लो समय प्रविधिको प्रयोग तीव्र रुपमा बढिरहेको अवस्थामा यात्रुहरुलाई सहज र स्तरीय सेवा दिनको लागि हामी पूर्ण रुपमा अटोमेशनमा गएका हौं’, केसीले भने, ‘कम्पनी अटोमेशनमा गएकाले यात्रुहरुले अनलाइनबाट नै टिकट काट्न सक्छन् ।’ उनका अनुसार यात्रुहरुले पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिको पृथ्वी बस डटकम एनपी, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिको मोबाइल एम्पलिकेशन र बस सेवा डटकममार्फत सजिलै टिकट काट्न सक्नेछन् ।
विगत ५० वर्ष भन्दा धेरै समयदेखि सेवा दिँदै आएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले नेपालका प्रमुख शहर काठमाडौं, बुटवल, हेटौंडा देखि पूर्वका मुख्य शहरहरु धरान, विराटनगर, जनकपुर, विरगञ्ज, काँकड भित्ता देखि सुदुर पश्चिमका दाङ, नेपालगञ्ज, सुर्खेत धनगढी, बर्दिया तथा महेन्द्रनगर सम्म गरि ३० भन्दा बढि शहरमा सेवा दिँदै आएको छ ।
कम्पनीले ४ सय १० वटा भन्दा धेरै रुटबाट करिब १ हजार ३ सय ५० बस मार्फत सेवा दिँदै आएको छ ।पृथ्वी यातायातबाट दैनिक ८ हजार भन्दा बढि यात्रुले यात्रा गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकटिङ्ग माध्यम हो । कम्पनीले नेपालका ६२ जिल्लामा आफ्नो सेवा दिँदै आएको छ । दशवर्ष अगाडि स्थापना भएको कम्पनीले यातायात क्षेत्रलाई पूर्ण अटोमेशनमा लैजाने प्रविधि निर्माण गर्दै आएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology