पोखरा । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना हुने टाइगर कप भलिवल प्रतियोगिताकाे चाैथाे संस्करण आगामी माघ १ गतेबाट शुरु हुने तय भएको छ । माघ ६ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब स्तरीय महिला तथा पुरुष भलिवल प्रतियोगितामा दुवै विधामा ६-६ वटा टीमबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएका छन् ।
प्रतियोगितामा सहभागी हुने पुरुषतर्फको टीममा गण्डकी प्रदेश पोखरा, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, हेल्प नेपाल स्पोर्ट्स क्लब र श्रीलंकाकाे श्रीलंका आर्मी टीम रहनेछन् ।
महिलातर्फ नेपाल एपीएफ क्लब, न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश पोखरा, नेपाल पुलिस क्लब र भारतको हरियाणा पुलिस क्लबको टीम रहनेछन् ।
नेपाल भलिवल संघकाे संयोजनमा हुने प्रतियोगितामा पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषद गण्डकीको विशेष सहयोग रहनेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology