पाल्पा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महासमिति बैठकबाट अब उप्रान्त कांग्रेस कार्यकर्ताले रुखबाहेक अरु चिन्हमा भोट हाल्न पर्नेछैन भन्ने घाेषणा गर्नुपर्ने बताएका छन् ।
शनिबार पाल्पा जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेस गठबन्धन गरेर चुनावमा जाँदा कमजोर भएको र यसको सैद्धान्तिक आधार समेत खस्किएको बताए ।
जसकारण पार्टीकाे आगामी महासमिति बैठकबाट जित्ने लोभ र हार्ने डरले रुखबाहेकका ठाउँमा छाप लाउने अपराध गर्ने छैनौं भनेर घाेषणा गनुपर्ने महामन्त्री थापाकाे माग छ । ‘हामीले हाम्रा मतदातालाई रुखमा होइन हसिया हथौडा,कलममा भोट हाल्न लगायौं । साइकलमा भोट हाल्न भन्यौ । मैले यस कुरामा फरक मत राखे पनि त्यसको अर्थ छैन ।
म गठबन्धनमा रहेका साथीहरुलाई पनि केही दोष दिन्न’, उनले भने, ‘किनकी हामीले निर्णय गरेको हो । तर अब महासमिति बैठकबाट हामीले भन्नुपर्छ, जे भयो भयो जितिने लोभ र हारिने डरले रुखबाहेक अरु चिन्हमा छाप लाउने अपराध अब गर्ने छैनौं भनेर डिक्लियर गनुपर्छ ।’
महामन्त्री थापाले कांग्रेस सरकारमा भएका बेला काम नगर्ने हो भने अरुलाई दोष दिएर उम्किने ठाउँ नभएकाे पनि बताए । सरकारले गल्ती गरे प्रधानमन्त्रीलाई बालुवाटारबाट खुमलटार पठाउँछौं भन्ने आँट कांग्रेसले गर्नुपर्ने उनले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology