काठमाडौ । नेपालीहरुको महान चाड विजया दशमीको समयमा बजारमा फलफूल लगायतका खाद्य सामग्रीको मूल्य दोब्बरले महंगो भएको भन्दै सर्वसाधारणहरुले दुःखेसो पोखेका छन् ।
उनीहरुले चाडपर्वमा समेत सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न नसक्दा सर्वसाधारणले दुःख पाएको बताए । चाडपर्वमा सरकारले सहुलियत दिनुपर्ने ठाउँमा चाडपर्वका लागि चाहिने चिनी लगायतका खाद्य सामग्रीको अभावसमेत परिपूर्ति गर्न नसकेको बताए ।
उनीहरुले बजारमा चिनीको अभाव र चामल लगायका खाद्य सामग्रीहरुको गुणस्तरियता नभएको समेत बताए । विगतका वर्षहरुको भन्दा यस वर्षको दशैँको समयमा मूल्यवृद्धि दोब्बर रहेको उनीहरुको भनाइ छ । सर्वसाधारण दिनेश श्रेष्ठ, साजना देवकोटा र जगतनारायण नायकले स्याउ, अनार लगायतका फलफूलमा धेरै महंगी बढेको गुनासो गरे । उनिहरुले सरकारले महंगी नियन्त्रण गर्नुपर्ने बताए । सामग्रीहरुको आवश्यकता पूरा गर्न सक्नुपर्ने र जनतालाई दुःख दिनु नहुने उनीहरको भनाइ छ ।
त्यस्तै फलफूल व्यापारी लक्ष्मी श्रेष्ठले सामग्रीको गुणस्तर हेरेर मूल्य बढेको बताए । उनले विगतको भन्दा यस वर्ष अनार, नरिवल पानीको मूल्य बढेपनि अरु फलफूलमा खासै मूल्य नबढेको बताए। उनले आफूले पसल राखेको सात वर्षमा पहिलो पटक व्यापार घटेको बताए ।
उनले यस वर्ष व्यापार नहुँदा व्यवसाय गर्न हरेस खानुपर्ने अवस्था सिर्जना भएको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology