राजेश पराजुली, पोखरा । पोखरा सुरक्षासम्बन्धी नेपाल-भारत द्विपक्षीय परामर्श समूहको १५औं बैठक पोखरामा बसेको बैठकमा पारस्परिक सुरक्षा, प्रतिरक्षा सामग्रीको आपूर्ति, प्रशिक्षण तथा क्षमता अभिवृद्धि र संयुक्त सैन्य अभ्यासका विषयमा छलफल भएको छ।
त्यस्तै दुई देशबीच भ्रमण, संयुक्त यात्रा, साहसिक गतिविधि, विपद् व्यवस्थापनमा सहकार्य र सूचनाको आदानप्रदानजस्ता विषयमा छलफल भएको भारतीय दूतावासले जानकारी दिएको छ।
बैठकमा नेपालको नेतृत्व परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव भृगु ढुङ्गाना र भारतीय टोलीको नेतृत्व भारत सरकार विदेश मन्त्रालयको उत्तरी महाशाखाका सहसचिव अनुराग श्रीवास्तवले गरेका थिए।
दुवै टोलीमा रक्षा, परराष्ट्र एवं गृह मन्त्रालय तथा भारतीय र नेपाली सेनाका निर्देशनालयका अधिकारीहरुको सहभागीता थियो। द्विपक्षीय सुरक्षा र सुरक्षा सहकार्य प्रवर्द्धन हेतु सन् २००३ मा स्थापना गरिएको द्विपक्षीय परामर्श समूह भारत र नेपालबीचको एक महत्वपूर्ण संस्थागत संयन्त्र हो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology