काठमाडौं । निर्वाचनमा सिट बाडफाडको कुरामा सहमति हुन नसकेपछि जनता समाजवादी (जसपा) नेपाल गठबन्धनबाट बाहिरिएको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा कसैसँग पनि तालमेल नगर्ने भएको हो ।
शनिबार बसेको जसपा कायॅकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णयसँगै पाँच दलीय गठबन्धनमा फुट आएको छ । गठबन्धन निर्माणको मुख्य घटक दलका रुपमा रहेको जसपा बाहिरिएसँगै अब गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा एस र जनमोर्चा मात्रै रहने भएका छन् ।
यद्यपि उसले गठबन्धनभित्र सम्मानजनक सीट बाँडफाँट भए अझै सहकार्यको ढोका खुल्लै रहेको सङ्केत पनि दिएको छ । त्यसो हुन नसके अन्य दलसँग चुनावी तामलमेल गर्ने र त्यो पनि नभए एक्लै चुनाव लड्ने निर्णय जसपाले आज गरेको हो ।
बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ, ‘हाम्रो पार्टीको समेत सहभागितामा रहेको पाँच दलीय गठवन्घनमा आगामी हुने संघीय संसद र प्रदेश सभा सदस्यको निर्वाचनमा सीटको तालमेल को सम्वन्धमा भईरहेको सीट बाँडफाँटसम्बन्धी छलफलमा हाम्रो पार्टीको लागि सन्तोषजनक अवस्था नदेखिएको हुंदा यसका अतिरिक्त सम्भव भएसम्म विकल्पको रूपमा अन्य राजनीतिक दलहरूसंग पनि निर्वाचनमा सीटको तालमेल गर्न सकिने छ । सो पनि हुन नसकेको अवस्थामा जसपा नेपाल एक्लै निर्वाचनमा भाग लिने निर्णय गरिन्छ ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology