काठमाडौं । अझै एक-दुई दिनसम्म वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन् । जल तथा मौसम पूर्वानुमानले दिएको जानकारी अनुसार मनसुनको न्यून चापीय रेखा नेपाल नजिक आएकाले केही दिन वर्षाको सम्भावना रहेको छ।
अहिले मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थानमा छ। यो प्रक्रिया अब १-२ दिन रहन्छ। न्यून चापीय रेखा सरदर स्थानभन्दा जति उत्तर भयो त्यतिनै पानी पर्ने सम्भावना बढ्छ।
मौसमबिदका अनुसार हिजो/ अस्तिभन्दा अब केही ठूलो वर्षा हुनसक्नेछ।
आज काठमाडौं उपत्यकामा पनि वर्षा हुने सम्भावना रहेको जनाईएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।
यसैगरी राति पनि बागमती,गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ।
भोलि आइतबार कर्णाली प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। सोमबार पनि सुदूरपश्चिम, लुम्बिनी तथा प्रदेश १ का थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मुलुकका केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकाले उक्त भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको पूर्वानुमान महाशाखाले जनाएको छ।
साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology