काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले विश्वमा भूराजनीतिक शक्तिहरूबीचको सङ्घर्ष तीव्र बन्दै गएको बताएका छन् ।
एमालेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै थापाले भूराजनीतिक शक्तिहरूबीचको सङ्घर्ष तीव्र बनेको बताउदै राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि सङ्घर्षको विकल्प नभएको धारणा राखेका छन् ।
उनले भने- 'अहिले भूराजनीतिक शक्तिहरूबीच सङ्घर्ष तीब्र बन्दै गएको छ । लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य बढ्दै गएको छ । जनतामा व्याप्त एल्गोरिदमको भ्रम क्रमशः हट्दै गएको छ । सरकारप्रति जनतामा आक्रोश चुलिँदै गएको छ । पछिल्ला घटनाक्रमहरूले संसदीय, सडक तथा कानुनी सङ्घर्षमा विजयको सङ्केत दिइरहेका छन् ।'
उनले आगामी निर्वाचन सामान्य नहुने दाबी गर्दै बाह्य शक्तिहरूले आफ्नो स्वार्थ पूरा गर्न कठपुतलीलाई विजयी गराउन खोज्ने गरेको आरोप लगाए । बादलले आगामी निर्वाचनमा लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरूबीचको सङ्घर्ष थप पेचिलो बन्ने बताए ।
उनले गत फागुन २१ को निर्वाचनमा एमालेले आफ्ना प्रमुख प्रतिद्वन्द्वी चिन्न नसकेको, आन्तरिक एकता कायम गर्न नसकेको र जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न नसकेको उल्लेख गर्दै विजयका लागि स्पष्ट नीति, बलियो नेतृत्व र जनताको समर्थन आवश्यक रहेको बताए ।
उनले सरकारप्रति जनताको आक्रोश बढ्दै गएको र पछिल्ला घटनाक्रमले संसदीय, सडक तथा कानुनी सङ्घर्षमा विजयको सङ्केत देखाएको दाबी गर्दै आगामी निर्वाचनमा गत फागुन २१ को परिणाम दोहोरिने वा त्यसमा क्रमभङ्ग हुने भन्ने नै अहिलेको प्रमुख राजनीतिक प्रश्न रहेको उल्लेख गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology