अर्जुन न्यौपाने, टेक्सस । अमेरिकामा नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा नेपाली मूल तथा नेपालीभाषी उम्मेदवारहरूले उल्लेखनीय सफलता हासिल गरेका छन् । विभिन्न चार राज्यका संसद्का लागि प्रतिस्पर्धा गरेका पाँच उम्मेदवारमध्ये चार जना निर्वाचित भएका छन् भने एक जना पराजित भएका छन् ।
मेरिल्यान्ड, न्युयोर्क, न्यु ह्याम्पसायर र केन्टकी राज्यबाट उम्मेदवारी दिएका नेपाली समुदायसँग जोडिएका उम्मेदवारहरूको सफलतालाई अमेरिकी राजनीतिमा नेपाली समुदायको बढ्दो सहभागिता र प्रतिनिधित्वका रूपमा हेरिएको छ ।
मेरिल्यान्ड राज्यको तल्लो सदन अन्तर्गत जिल्ला ८ बाट डेमोक्रेटिक पार्टीका उम्मेदवार डा. ह्यारी भण्डारी तेस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । सन् २०१८ मा पहिलोपटक निर्वाचित भएका भण्डारी अमेरिकी राज्य संसद्मा पुग्ने पहिलो नेपाली मूलका अमेरिकी हुन् ।
न्युयोर्क राज्यको विधानसभाअन्तर्गत जिल्ला १०३ बाट डेमोक्रेटिक पार्टीकी उम्मेदवार सरहाना श्रेष्ठ पुनः निर्वाचित भएकी छन् । सन् २०२२ मा पहिलोपटक निर्वाचित भएकी श्रेष्ठ अमेरिकी राज्य संसद्मा प्रतिनिधित्व गर्ने पहिलो नेपाली मूलकी महिला हुन् ।
न्यु ह्याम्पसायर राज्यको प्रतिनिधिसभाअन्तर्गत हिल्सबरो काउन्टीको जिल्ला ४१ बाट डेमोक्रेटिक पार्टीका उम्मेदवार विश्वबहादुर शाह पहिलोपटक निर्वाचित भएका छन् । तीन जना प्रतिनिधि निर्वाचित हुने उक्त क्षेत्रमा उनले ५ हजार ७२६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।
केन्टकी राज्यको प्रतिनिधिसभाअन्तर्गत जिल्ला ३० बाट डेमोक्रेटिक पार्टीका उम्मेदवार मित्र सुवेदी निर्वाचित भएका छन् । भुटानमा जन्मिएर नेपालका शरणार्थी शिविरमा हुर्किएका सुवेदीको अमेरिकी राज्य संसद्सम्मको यात्रा नेपालीभाषी समुदायका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
सतीश चापागाईं भने पराजित
मेरिल्यान्ड राज्यको तल्लो सदन अन्तर्गत जिल्ला ७ ए बाट उम्मेदवारी दिएका सतीश चापागाईं भने निर्वाचित हुन सकेनन् । डेमोक्रेटिक पार्टीको प्रारम्भिक निर्वाचन पार गर्दै मुख्य निर्वाचनमा पुगेका चापागाईंले यसपटक सफलता हासिल गर्न सकेनन् ।
यस निर्वाचनमा डा. ह्यारी भण्डारी र सरहाना श्रेष्ठको पुनः विजयले अमेरिकी राजनीतिमा उनीहरूको निरन्तरतालाई देखाएको छ भने विश्वबहादुर शाह र मित्र सुवेदीको पहिलो जितले नेपाली मूल तथा नेपालीभाषी समुदायको राजनीतिक प्रतिनिधित्व विस्तार गरेको छ ।
यी निर्वाचन अमेरिकी संघीय संसद्का नभई सम्बन्धित राज्यका संसद्का लागि भएका हुन् । राज्यका कानुन निर्माण, बजेट, शिक्षा, स्वास्थ्य, आवासलगायत सार्वजनिक नीतिमा राज्य सांसदहरूको महत्वपूर्ण भूमिका हुन्छ ।
पाँच उम्मेदवारमध्ये चार जनाको विजयलाई अमेरिकी लोकतान्त्रिक प्रक्रियामा नेपाली समुदायको बढ्दो सहभागिताका रूपमा लिन सकिन्छ । यसले नेपाली मूलका नागरिकको राजनीतिक उपस्थिति र प्रतिनिधित्व थप विस्तार हुँदै गएको संकेत गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology