काठमाडौँ । अमेरिकाको व्यावसायिक फुटबल प्रतियोगिता मेजर लिग सकरमा न्युयोर्क रेड बुल्सले लियोनल मेसीको टोली इन्टर मियामीलाई २–० गोलले पराजित गरेको छ ।
आइतबार बिहान सम्पन्न खेलमा न्युयोर्कले घरेलु मैदानमा जित निकाल्दै प्लेअफ दौडमा महत्त्वपूर्ण तीन अङ्क जोडेको हो ।
न्युयोर्कको ह्यारिसनस्थित स्पोर्ट्स इलस्ट्रेटेड रङ्गशालामा भएको खेलमा इन्टर मियामीका कार्लोस कासेमिरोले सातौँ मिनेटमा आफ्नै पोस्टमा गोल गरेपछि न्युयोर्कले अग्रता लिएको थियो । दोस्रो हाफको अतिरिक्त समयमा एमिल फोर्सबर्गले गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।
अर्जेन्टिनाका कप्तान मेसी खेलको ५६औँ मिनेटमा मैदान प्रवेश गरेका थिए । उनी सुरुआती टोलीमा थिएनन् । मेसी मैदानमा आए पनि इन्टर मियामीले गोल फर्काउन सकेन । न्युयोर्कका गोलरक्षक इथान होर्भाथले दुई प्रहार बचाएका थिए भने इन्टर मियामीका गोलरक्षक डेयन सेन्ट क्लेयरले पाँच बचाउ गरेका थिए ।
यस जितसँगै न्युयोर्कले लगातार दुई हारको शृङ्खला तोडेको छ । टोलीले प्लेअफमा स्थान सुरक्षित गर्ने दौडमा महत्त्वपूर्ण जित निकालेको हो । यो जितपछि न्यूयोर्कको ३१ खेलमा ३९ अंक भएको छ र एमएलएसको इस्टर्न कफेरेन्समा नवौं स्थानमा छ । त्यस्तै इन्टर मियामीको भने ३१ खेलमा ५५ अंक रहेको छ र हाल तेस्रो स्थानमा रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology